﻿रूथको पुस्तक.
1.
न्यायकर्ताहरूका शासनकालमा देशमा अनिकाल पर्‍यो। यसकारण यहूदाको बेथलेहेमबाट एक जना मानिस आफ्नी पत्नी र दुई छोरालाई लिएर केही समयको निम्ति मोआब देशमा बसाइँ सरे। 
यी मानिसको नाम एलीमेलेक थियो। उनकी पत्नीको नाम नाओमी, र उनका दुई छोराका नाम महलोन र किल्योन थियो। तिनीहरू यहूदाको बेथलेहेमका एप्रातीहरू थिए। अनि तिनीहरू मोआबमा गए, र त्यहीँ बसोबास गर्न थाले। 
केही समयपछि नाओमीका पति एलीमेलेकको मृत्यु भयो। तब तिनी र तिनका दुई छोरा मात्र बाँकी भए। 
पछि नाओमीका छोराहरूले मोआबी स्त्रीहरूलाई विवाह गरे। एउटीको नाम ओर्पा र अर्कीको नाम रूथ थियो। तिनीहरू त्यहाँ लगभग दश वर्ष बसे। 
त्यसपछि दुवै छोरा महलोन र किल्योनको पनि मृत्यु भयो। यसरी नाओमी दुई छोरा र पतिविना एकलै भइन्। 
जब नाओमी मोआबमा छँदै याहवेहले यहूदामा आफ्ना मानिसहरूलाई भोजन जुटाएर सहायता गरिराख्नुभएको छ भनी तिनले सुनिन्, तब नाओमी र तिनका बुहारीहरू त्यहाँबाट घर फर्कन तयार भए। 
तिनी जहाँ बसिरहेकी थिइन्, त्यस ठाउँलाई छोडिन्, र आफ्ना बुहारीसहित यहूदाको देशमा फर्कन बाटो लागिन्। 
अनि बाटोमा नाओमीले आफ्ना बुहारीहरूलाई भनिन्, “तिमीहरू आ-आफ्नी आमाका घरमा फर्केर जाओ। जसरी तिमीहरूले आफ्ना मृत पतिहरू र मलाई दया देखायौ, त्यसरी नै याहवेहले पनि तिमीहरूसित दया देखाऊन्। 
याहवेहले तिमीहरूलाई तिमीहरूका भविष्यमा हुने आ-आफ्ना पतिहरूका घरमा सुरक्षा देऊन्।” अनि तिनले उनीहरूलाई म्वाइँ खाइन्, र तिनीहरू डाँको छोडेर रोए। 
अनि तिनलाई भने, “हामी तपाईंसित तपाईंकै मानिसहरूकहाँ फर्किजानेछौँ।” 
तर नाओमीले भनिन्, “मेरा छोरीहरू हो, घर फर्क। तिमीहरू मसँग किन आउँछौ? तिमीहरूका पतिहरूका लागि के म अझै छोराहरू जन्माउन सक्छु र? 
मेरा छोरीहरू हो, घर फर्क। अर्को पति पाउनलाई म धेरै बूढी भइसकेकी छु। यद्यपि अझै आशा छ भनी मैले सोचेँ र आज राति नै पति पाएँ, र छोराहरू जन्माएँ भने तापनि 
तिनीहरू बढुन्जेलसम्म तिमीहरूले पर्खन्छौ र? उनीहरूका निम्ति तिमीहरू अविवाहित नै रहन्छौ? त्यसो होइन मेरा छोरीहरू हो! तिमीहरूको भन्दा मेरो हृदयको दुःख गहिरो छ; किनकि याहवेहको हात मेरो विरुद्धमा उठेको छ।” 
यसमा तिनीहरू फेरि डाँको छोडेर रोए। तब ओर्पाले सासूलाई बिदाइको चुम्बन गरिन्; तर रूथले भने नाओमीलाई छोडिनन्। 
“हेर,” नाओमीले भनिन्, “तिम्री जेठानी आफ्ना मानिसहरू र देवताहरूकहाँ फर्केर गई। तिमी पनि ऊसँगै फर्क।” 
तर रूथले जवाफ दिइन्, “मलाई तपाईंलाई छोड्न अथवा तपाईंलाई छोडेर फर्कन कर नगर्नुहोस्। तपाईं जहाँ जानुहुन्छ, म त्यहीँ जानेछु। तपाईं जहाँ बस्‍नुहुन्छ, म त्यहीँ बस्‍नेछु। तपाईंका मानिसहरू मेरा मानिस हुनेछन्, र तपाईंका परमेश्‍वर मेरा परमेश्‍वर हुनुहुनेछ। 
तपाईं जहाँ मर्नुहुन्छ, म पनि त्यहीँ मर्नेछु र म त्यहीँ गाडिनेछु। मृत्युले बाहेक अरू कुनै कुराले तपाईंबाट मलाई अलग गरेमा याहवेहले मसित अति कठोर व्यवहार गरून्।” 
रूथले आफूसित जाने सङ्कल्प गरेकी थाहा पाएपछि नाओमीले तिनलाई कर गर्न छोडिन्। 
यसकारण तिनीहरू बेथलेहेम नपुगुन्जेल यात्रा गरिरहे। जब तिनीहरू बेथलेहेममा आइपुगे, तब सारा सहरमा हलचल मच्‍चियो, तब त्यहाँका स्त्रीहरूले आश्‍चर्य मानेर भन्‍न लागे, “के यिनी नाओमी होइन र?” 
“मलाई नाओमी नभन,” तिनले उनीहरूलाई भनिन्। “बरु मलाई मारा भन, किनकि सर्वशक्तिमान्‌ले मेरो जीवन साह्रै तितो बनाइदिनुभएको छ। 
म भरिपूर्ण भएर गएकी थिएँ, तर याहवेहले मलाई रित्तो फर्काएर ल्याउनुभएको छ। मलाई किन नाओमी भन्छौ? याहवेहले मलाई दण्ड दिनुभएको छ। सर्वशक्तिमान्‌ले ममाथि कष्‍ट ल्याउनुभएको छ।” 
यसरी नाओमी आफ्नी मोआबी बुहारी रूथसित मोआब देशबाट फर्किन्। तिनीहरू बेथलेहेममा आइपुग्दा जौको कटनी सुरु हुँदैथियो। 
