﻿न्यायकर्ता.
15.
केही समयपछि गहुँ कटनीको समयमा शिमशोनले एउटा कलिलो पाठो लिएर आफ्नी पत्नीलाई भेट्न गए। उनले भने, “म आफ्नी पत्नीको कोठामा जाँदैछु।” तर तिनका बुबाले उनलाई जान दिएनन्। 
उनले भने, “तिमीले तिनलाई घृणा गर्छौ भन्‍ने मलाई पक्‍का थाहा भएकोले मैले त तिनलाई तिम्रो साथीलाई दिएँ। के तिनकी बहिनी तिनीभन्दा राम्री छैन र? बरु तिनलाई लैजाऊ।” 
शिमशोनले तिनीहरूलाई भने, “यस पटक पलिश्तीहरूमाथि बदला लिने अधिकार मलाई छ। म साँच्‍चै तिनीहरूको हानि गर्नेछु।” 
यसकारण शिमशोन बाहिर निस्के। अनि तीन सय स्यालहरू पक्रेर जोडी-जोडी गरी तिनीहरूका पुच्छर बाँधे, र गाँठोमा राँको बाँधिदिए। 
तब राँकाहरू सल्काएर ती स्यालहरूलाई पलिश्तीहरूका अन्‍नको खेतमा छोडिदिए। उनले खेतमा रहेको अन्‍न र बाँधेर राखेको बिटा, र दाखबारी र जैतुनका बगैँचा जलाइदिए। 
जब पलिश्तीहरूले सोधे, “यो कसले गरेको हो?” तब तिनीहरूलाई यसो भनियो, “किनकि उनकी पत्नी उनका साथीलाई दिएकोले तिम्नाका जुवाइँ शिमशोनले यो सबै गरेका हुन्।” यसकारण पलिश्तीहरू गए; अनि ती स्त्री र तिनका बुबालाई जलाइदिए। 
शिमशोनले तिनीहरूलाई भने, “तिमीहरूले यो काम गरेको हुनाले म तिमीहरूमाथि बदला नलिई रोकिनेछैनँ।” 
उनले तिनीहरूमाथि निर्दयतापूर्वक आक्रमण गरे; र धेरैलाई मारे। तब तिनी तल झरेर एतामको पहरामा भएको गुफामा बसे। 
पलिश्तीहरू उक्लेर गए, र यहूदामा छाउनी हालेर लहीसम्म छरिएर बसे। 
यहूदाका मानिसहरूले सोधे, “तपाईंहरू किन हामीसित लडाइँ गर्न आउनुभयो?” तिनीहरूले जवाफ दिए, “हामी शिमशोनलाई कैदी बनाउन र उनले हामीलाई जे गरेका छन्, त्यो उनलाई गर्न आएका हौँ।” 
तब यहूदाबाट तीन हजार मानिसहरू एतामको पहरामा भएको गुफामा झरेर गए, र शिमशोनलाई भने, “पलिश्तीहरू हामीमाथि शासन गर्नेहरू हुन् भनेर के तिमी जान्दैनौ? तिमीले हामीमाथि यो के गर्‍यौ?” उनले जवाफ दिए, “मैले तिनीहरूले ममाथि जे गरे, त्यो मात्र तिनीहरूलाई गरेँ।” 
तिनीहरूले उनलाई भने, “हामी यहाँ तिमीलाई बाँधेर पलिश्तीहरूको हातमा दिनलाई आएका छौँ।” शिमशोनले भने, “तिमीहरूले चाहिँ मलाई मार्नेछैनौँ भनी शपथ खाओ।” 
तिनीहरूले भने, “हामी राजी छौँ। हामी तिमीलाई बाँधेर मात्र तिनीहरूका हातमा सुम्पिदिनेछौँ। हामी तिमीलाई मार्नेछैनौँ।” यसकारण तिनीहरूले उनलाई दुई वटा नयाँ डोरीहरूले बाँधे, र त्यस पहराबाट माथि लिएर गए। 
उनी लहीमा पुग्दा पलिश्तीहरू तिनीकहाँ चिच्याउँदै आए। तब याहवेहका आत्मा उनीमाथि शक्तिसाथ आउनुभयो। उनका पाखुरामा भएका डोरीहरू डढेका सनपाटझैँ भए। अनि ती बन्धनहरू उनका हातहरूबाट फुस्के। 
उनले एउटा गधाको आलो बङ्गारा भेट्टाए। अनि उठाए, र त्यसैले एक हजार मानिसलाई मारे। 
तब शिमशोनले भने, “एउटा गधाको बङ्गाराले मैले तिनीहरूलाई गधाहरूझैँ बनाएँ। एउटा गधाको बङ्गाराले मैले एक हजार मानिस मारेँ।” 
यति भनिसकेर उनले त्यो बङ्गारा फ्याँकिदिए। यसैले त्यस ठाउँलाई रामत-लही भनियो। 
उनी खूबै तिर्खाएका हुनाले तिनले याहवेहको पुकार गरे, “तपाईंले आफ्नो सेवकलाई महान् विजय दिनुभएको छ। के अब म तिर्खाले मरूँ? ती खतना नभएकाहरूका हातमा परूँ?” 
तब परमेश्‍वरले लहीमा एउटा खाल्डो बनाउनुभयो, र त्यहाँबाट पानी फुटेर निस्क्यो। शिमशोनले पानी पिएपछि उनको बल फर्कियो, र उनी ताजा भए। यसकारण त्यो मूल फुटेको ठाउँलाई एन-हक्‍कोरे भनियो, र त्यो अझसम्म लहीमा छँदैछ। 
शिमशोनले इस्राएललाई पलिश्तीहरूका समयमा बीस वर्षसम्म अगुवाइ गरे। 
