﻿यहोशू.
14.
इस्राएलले कनान देशमा उत्तराधिकारको रूपमा पाएका इलाकाहरू यिनै हुन्, जसलाई पुजारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका कुलका अगुवाहरूले तिनीहरूलाई बाँडिदिएका थिए। 
याहवेहले मोशाद्वारा आज्ञा दिनुभएझैँ तिनीहरूका उत्तराधिकारको भाग चिट्ठा हालेर साढे नौ कुललाई बाँडिदिएको थियो। 
मोशाले साढे दुई कुललाई तिनीहरूको उत्तराधिकारको रूपमा यर्दनको पूर्वपट्टिको भाग दिएका थिए। तर बाँकी रहेकाहरूमा लेवीहरूलाई कुनै उत्तराधिकारको भाग दिएका थिएनन्। 
किनकि योसेफका सन्तानबाट मनश्शे र एफ्राइम दुई कुलहरू भएका थिए। त्यसैले लेवीहरूले देशको कुनै पनि भाग पाएनन्; तर बस्‍नलाई सहरहरू र तिनीहरूका बगाल अनि बथानका निम्ति खर्कहरू मात्र पाए। 
यसरी याहवेहले मोशालाई आज्ञा दिनुभएजस्तै, इस्राएलीहरूले देशलाई विभाजन गरे। 
एक दिन यहूदाका मानिसहरूले यहोशूलाई गिलगालमा भेट गरे। अनि कनज्जी यपून्‍नेका छोरा कालेबले तिनलाई भने, “याहवेहले तपाईं र मेरो विषयमा परमेश्‍वरका जन मोशालाई कादेश-बर्नेमा भन्‍नुभएको कुरा तपाईंलाई थाहै छ। 
याहवेहका सेवक मोशाले मलाई यो देशको भेद लिनलाई कादेश-बर्नेबाट पठाउँदा म चालीस वर्षको थिएँ। अनि मैले तिनलाई आफ्नो सत्य बयान दिएँ। 
तर मसँग माथि जाने मेरा दाजुभाइहरूले मानिसहरूको हृदय भयभीत तुल्याइदिए। तर मैलेचाहिँ याहवेह मेरा परमेश्‍वरलाई सम्पूर्ण हृदयले पछ्याएँ। 
यसकारण त्यस दिन मोशाले मसँग, ‘तेरा पाइलाले टेकेको देश सधैँको निम्ति तँ र तेरा सन्तानहरूका निम्ति उत्तराधिकारको भाग हुनेछ। किनकि तैँले याहवेह मेरो परमेश्‍वरलाई सम्पूर्ण हृदयले पछ्याएको छस् भनी शपथ खानुभएको थियो।’ 
“यसकारण जब इस्राएल उजाडस्थानमा भौँतारिँदै हिँडिरहेको बेला याहवेहले प्रतिज्ञा गर्नुभएझैँ, उहाँले यो कुरा मोशासँग भन्‍नुभएदेखि उसो उहाँले मलाई पैँतालीस वर्षसम्म जीवित राख्नुभएको छ। यसरी आजको दिन म पचासी वर्षको भएको छु! 
मोशाले मलाई जासुस गर्न पठाएको दिनमा जस्तै आज पनि म बलियो छु। म लडाइँमा जाँदा जति बलियो थिएँ, आज पनि त्यत्तिकै बलियो छु। 
अब त्यस दिन याहवेहले मलाई प्रतिज्ञा गर्नुभएझैँ, यो पहाडी मुलुक मलाई दिनुहोस्। त्यहाँ अनाकीहरू बस्दछन्। अनि तिनीहरूका सहरहरू ठूला र सुरक्षित छन् भनी तपाईं आफैँले सुन्‍नुभएको छ। तर याहवेहको सहायताले म तिनीहरूलाई धपाइदिनेछु।” 
तब यहोशूले यपून्‍नेका छोरा कालेबलाई आशिष् दिए। अनि तिनलाई तिनको उत्तराधिकारको रूपमा हेब्रोन दिए। 
यसरी त्यस दिनदेखि उसो हेब्रोन कनज्जी यपून्‍नेका छोरा कालेबको अधीनमा छ। किनकि तिनले याहवेह इस्राएलको परमेश्‍वरलाई सम्पूर्ण हृदयले पछ्याएका थिए। 
(हेब्रोनलाई किर्यत-अर्बा भनिन्थ्यो। अर्बाचाहिँ अनाकीहरू बीचका सबैभन्दा महान् मानिस थिए।) त्यसपछि देशलाई युद्धबाट विश्राम मिल्यो। 
