﻿यहोशू.
9.
अब यर्दनको पश्‍चिमतिरका सबै राजाहरूले यी कुराहरूको बारेमा सुने। ती राजाहरू यिनै थिए: हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी अनि यबूसी, जो पहाडी मुलुकका पश्‍चिमका डाँडाहरू, फेदी र लेबनानसम्म फैलिएका महासागरका किनारामा बस्दथे। 
तिनीहरू यहोशू र इस्राएलको विरुद्धमा युद्ध गर्न भनी एकजुट भएर आए। 
जब गिबोनका मानिसहरूले यहोशूले यरीहो र ऐलाई जे गरेका थिए त्यसको बारेमा सुने, 
तब तिनीहरूले छल गर्ने विचार गरे। तिनीहरू राजदूतको रूपमा गए, जसका गधाहरूमाथि फाटेका बोराहरू, पुराना फाटेका र टालेका मशकहरूले लादिएका थिए। 
ती मानिसहरूले खुट्टामा पुराना टालेका जुत्ताहरू र फाटेका लुगाहरू लगाएका थिए। तिनीहरूका सबै भोजनहरू सुकेका र ढुसी परेका थिए। 
तब तिनीहरू गिलगालमा यहोशूको छाउनीमा गएर तिनलाई र इस्राएलीहरूलाई भने, “हामी टाढाको देशबाट आएका हौँ; यसकारण हामीसँग सन्धि गर्नुहोस्।” 
इस्राएलका मानिसहरूले हिव्वीहरूलाई भने, “सायद, तिमीहरू हाम्रै नजिकमा बस्‍ने मानिसहरू हौ। अनि हामीले कसरी तिमीहरूसँग सन्धि गर्न सक्छौँ?” 
तिनीहरूले यहोशूलाई भने, “हामी तपाईंका सेवकहरू हौँ।” तर यहोशूले सोधे, “तिमीहरू को हौ? र कहाँबाट आएका हौ?” 
तिनीहरूले जवाफ दिए: “हामी तपाईंका सेवकहरू धेरै टाढाको देशबाट याहवेह तपाईंका परमेश्‍वरको ख्याति सुनेको हुनाले आएका हौँ। किनकि उहाँले इजिप्टमा गर्नुभएका सबै कुराहरूको वृतान्त हामीले सुनेका छौँ। 
अनि उहाँले यर्दनको पूर्वका दुई एमोरी राजाहरू अर्थात् हेश्बोनका राजा सीहोन र अस्तारोतमा राज्य गर्ने बाशानका राजा ओगलाई के गर्नुभयो, त्यो सुनेका छौँ। 
अनि हाम्रा प्रधानहरू र हाम्रा देशमा बस्‍ने सबै मानिसहरूले हामीलाई भने, ‘यात्राका निम्ति चाहिने सबै खानेकुराहरू बोकेर जाओ, र तिनीहरूलाई भेटेर भन; “हामी तपाईंहरूका सेवकहरू हौँ, यसैले हामीसँग सन्धि गर्नुहोस्।” ’ 
हामी तपाईंहरूलाई भेट्न निस्केको दिन हामीले पोको पारेका यी हाम्रा रोटीहरू तातो-तातै थिए। तर अब हेर्नुहोस्, यो कति सुक्खा र ढुसी परिसकेको छ। 
अनि हामीले यी मशकहरू दाखमद्यले भर्दा नयाँ नै थिए। तर अब हेर्नुहोस्, यी प्वाल परिसकेका छन्। अनि हाम्रा लुगाहरू र जुत्ताहरू लामो यात्राको कारणले थोत्रा भइसकेका छन्।” 
तब इस्राएलीहरूले तिनीहरूका खाने कुराहरूको जाँच गरे, तर याहवेहबाट केही सल्‍लाह लिएनन्। 
तब यहोशूले तिनीहरूलाई जीवितै राख्ने शान्ति-सन्धि गरे। अनि सभामा अगुवाहरूले त्यसलाई शपथद्वारा सहमत गरे। 
गिबोनीहरूसँग शान्ति-सन्धि गरेको तीन दिनपछि इस्राएलीहरूले यो कुरा थाहा पाए, कि तिनीहरू त उनीहरूकै नजिकमा बस्‍ने छिमेकीहरू पो रहेछन्। 
यसकारण इस्राएलीहरू प्रस्थान गरे। अनि तेस्रो दिन तिनीहरूका सहरहरू गिबोन, कपीरा, बेरोत र किर्यत-यारीममा आइपुगे। 
तर इस्राएलीहरूले तिनीहरूमाथि आक्रमण गरेनन्; किनकि समुदायका अगुवाहरूले तिनीहरूसँग याहवेह इस्राएलका परमेश्‍वरको नाममा शपथ खाएका थिए। सारा समुदाय ती अगुवाहरूसँग गनगन गरे। 
तर सबै अगुवाहरूले जवाफ दिए, “हामीले तिनीहरूलाई याहवेह इस्राएलका परमेश्‍वरको नाममा शपथ खाएका छौँ। अब हामीले तिनीहरूलाई छुन सक्दैनौँ। 
हामी तिनीहरूसँग यसो गरौँ: हामीले तिनीहरूलाई जीवितै राखौँ, ताकि हामीले तिनीहरूसँग खाएको शपथ भङ्ग गरेको कारण हामीमाथि परमेश्‍वरको क्रोध नपरोस्।” 
तिनीहरूले अझ भने, “तिनीहरू जीवितै रहून्, तर तिनीहरू सारा समुदायका निम्ति दाउरा काट्नेहरू र पानी भर्नेहरू होऊन्।” यसरी ती अगुवाहरूले तिनीहरूसँग गरिएको प्रतिज्ञा कायम राखे। 
तब यहोशूले गिबोनीहरूलाई बोलाएर भने, “तिमीहरूले हामीलाई ‘हामी तपाईंहरूभन्दा टाढा बस्छौँ,’ भनेर किन छल गर्‍यौ? वास्तवमा तिमीहरू त हाम्रै नजिक बसोबास गर्नेहरू रहेछौ। 
यसकारण अब तिमीहरू श्रापित भएका छौ। तिमीहरू मेरा परमेश्‍वरका भवनको दाउरा काट्ने र पानी भर्ने कामबाट कहिल्यै मुक्त हुनेछैनौ।” 
तिनीहरूले यहोशूलाई भने, “याहवेह तपाईंका परमेश्‍वरले आफ्नो सेवक मोशालाई यो सम्पूर्ण देश तपाईंहरूलाई दिन र यस देशका सारा बासिन्दाहरूलाई नष्‍ट गर्न आज्ञा दिनुभएको थियो। त्यसैले हामी आफ्नो ज्यानको निम्ति डरायौँ। यसकारण हामीले यसो गरेका हौँ। 
अब हामी तपाईंहरूको हातमा छौँ। तपाईंहरूलाई जस्तो उचित र ठिक लाग्छ, हामीसित त्यही गर्नुहोस्।” 
यसकारण यहोशूले इस्राएलीहरूबाट तिनीहरूलाई जोगाए; र तिनीहरूलाई मारेनन्। 
त्यस दिन यहोशूले गिबोनीहरूलाई सम्पूर्ण समुदायका निम्ति र याहवेहले चुन्‍नुहुने उहाँको वेदीका निम्ति दाउरा काट्ने र पानी भर्नेहरू बनाए। अनि आजको दिनसम्म पनि तिनीहरूले त्यही काम गर्छन्। 
