﻿गन्ती.
33.
मोशा र हारूनको नेतृत्वमा इस्राएलीहरू इजिप्टबाट दल-दलमा निस्केर यात्रा गरेका विवरणहरू यही हुन्। 
याहवेहको आदेशमा मोशाले तिनीहरूका यात्राका विवरणहरू लेखे। तिनीहरूले यात्रा गरेका विभिन्‍न ठाउँअनुसारका विवरण यही हो: 
इस्राएलीहरूले रामसेसबाट निस्तार चाडको भोलिपल्ट पहिलो महिनाको पन्ध्रौँ दिनमा यात्रा सुरु गरे। सारा इजिप्टियनहरूले हेर्दाहेर्दै तिनीहरूले साहसपूर्वक मोर्चा बाँधेर प्रस्थान गरे। 
त्यस बेला ती इजिप्टियनहरूचाहिँ आफ्ना जेठा छोराहरूका लासलाई गाडिरहेका थिए; जसलाई याहवेहले प्रहार गरी मार्नुभएको थियो। किनकि तिनीहरूका देवताहरूमाथि पनि याहवेहले न्याय ल्याउनुभएको थियो। 
रामसेसबाट हिँडेपछि इस्राएलीहरूले सुक्‍कोतमा छाउनी हाले। 
सुक्‍कोतबाट हिँडेपछि तिनीहरूले उजाडस्थानको किनारमा भएको एथाममा छाउनी हाले। 
तिनीहरू एथाम छोडेर हिँडे, र बाल-सेफोनको पूर्वपट्टि भएको पी-हहीरोतमा फर्किएर गए। अनि मिग्दोलको छेउमा छाउनी हाले। 
तिनीहरू पी-हहीरोतबाट हिँडेपछि समुद्रको बीचबाट भएर उजाडस्थानमा गए। तिनीहरू एथामको उजाडस्थानमा तीन दिनसम्म हिँडे। अनि तिनीहरूले मारामा छाउनी हाले। 
तिनीहरू माराबाट हिँडेर एलीममा आए, जहाँ बाह्र वटा पानीका मूल र सत्तरी वटा खजूरका रूखहरू थिए। अनि त्यहीँ तिनीहरूले छाउनी हाले। 
तिनीहरू एलीमबाट हिँडेर लाल समुद्रको नजिक छाउनी हाले। 
लाल समुद्रबाट हिँडेपछि तिनीहरूले सीनको उजाडस्थानमा छाउनी हाले। 
सीनको उजाडस्थानबाट हिँडेपछि तिनीहरूले दोफकामा छाउनी हाले। 
दोफकाबाट हिँडेपछि तिनीहरूले आलूशमा छाउनी हाले। 
आलूशबाट हिँडेर तिनीहरूले रेफिदीममा छाउनी हाले, जहाँ मानिसहरूका निम्ति पिउनलाई पानी थिएन। 
रेफिदीमबाट हिँडेर तिनीहरूले सीनैको उजाडस्थानमा छाउनी हाले। 
तिनीहरू सीनैको उजाडस्थानबाट हिँडे, र किब्रोत-हत्तावामा छाउनी हाले। 
तिनीहरू किब्रोत-हत्तावाबाट हिँडे, र हसेरोतमा छाउनी हाले। 
तिनीहरू हसेरोतबाट हिँडे, र रित्मामा छाउनी हाले। 
तिनीहरू रित्माबाट हिँडे, र रिम्मोन-पेरेसमा छाउनी हाले। 
तिनीहरू रिम्मोन-पेरेसबाट हिँडे, र लिब्नामा छाउनी हाले। 
तिनीहरू लिब्नाबाट हिँडे, र रिस्सामा छाउनी हाले। 
तिनीहरू रिस्साबाट हिँडे, र केहेलातामा छाउनी हाले। 
तिनीहरू केहेलाताबाट हिँडे, र शेपेर पर्वतमा पाल टाँगे। 
तिनीहरू शेपेर पर्वतबाट हिँडे, र हरादामा छाउनी हाले। 
तिनीहरू हरादाबाट हिँडे, र मखेलोतमा छाउनी हाले। 
तिनीहरू मखेलोतबाट हिँडे, र तहतमा छाउनी हाले। 
तिनीहरू तहतबाट हिँडे, र तेरहमा छाउनी हाले। 
तिनीहरू तेरहबाट हिँडे, र मित्कामा छाउनी हाले। 
तिनीहरू मित्काबाट हिँडे, र हशमोनामा छाउनी हाले। 
तिनीहरू हशमोनाबाट हिँडे, र मसेरोतमा छाउनी हाले। 
तिनीहरू मसेरोतबाट हिँडे, र बेने-याकानमा छाउनी हाले। 
तिनीहरू बेने-याकानबाट हिँडे, र होर-होगिदगादमा छाउनी हाले। 
तिनीहरू होर-होगिदगादबाट हिँडे, र योतबातामा छाउनी हाले। 
तिनीहरू योतबाताबाट हिँडे, र अब्रोनामा छाउनी हाले। 
तिनीहरू अब्रोनाबाट हिँडे, र एस्योन-गेबेरमा छाउनी हाले। 
तिनीहरू एस्योन-गेबेरबाट हिँडे, र जीनको उजाडस्थानमा भएको कादेशमा छाउनी हाले। 
तिनीहरू कादेश-बर्नेबाट हिँडे, र एदोमको सिमाना होर पर्वतमा छाउनी हाले। 
याहवेहको आज्ञामा पुजारी हारून होर पर्वतमा उक्ले, जहाँ इस्राएलीहरू इजिप्टबाट निस्किआएको चालीसौँ वर्षको पाँचौँ महिनाको पहिलो दिनमा तिनको मृत्यु भयो। 
होर पर्वतमा हारूनको मृत्यु हुँदा तिनी एक सय तेईस वर्ष पुगेका थिए। 
कनान देशको दक्षिणमा बस्‍ने कनानी राजा आरादले इस्राएलीहरू आउँदैछन् भनी सुने। 
तिनीहरू होर पर्वतबाट पनि हिँडे, र सलमोनामा छाउनी हाले। 
तिनीहरू सलमोनाबाट हिँडे, र पूनोनमा छाउनी हाले। 
तिनीहरू पूनोनबाट हिँडे, र ओबोतमा छाउनी हाले। 
तिनीहरू ओबोतबाट हिँडे, र मोआबको सिमानामा भएको इये-अबारीममा छाउनी हाले। 
तिनीहरू इये-अबारीमबाट हिँडे, र दीबोन-गादमा छाउनी हाले। 
तिनीहरू दीबोन-गादबाट हिँडे, र अल्मोन दिब्लातैममा छाउनी हाले। 
तिनीहरू अल्मोन दिब्लातैमबाट हिँडे, र नेबोको छेउमा भएको अबारीमको पर्वतहरूमा छाउनी हाले। 
तिनीहरू अबारीम पर्वतहरूबाट हिँडे, र यरीहोको पारिपट्टि यर्दन नदीको किनारमा मोआबको मैदानमा छाउनी हाले। 
त्यहाँ मोआबको मैदानमा तिनीहरूले यर्दन नदीको किनार बेथ-यशीमोतदेखि हाबिल-शीत्तिमसम्म छाउनी हाले। 
यरीहोको पारिपट्टि यर्दन नदीको नजिकै मोआबको मैदानमा याहवेहले मोशालाई भन्‍नुभयो, 
“इस्राएलीहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘जब तिमीहरूले यर्दन पार गरेर कनान देश पुग्छौ, 
तब तिमीहरूका सामुबाट त्यहाँका सबै बासिन्दाहरूलाई धपाउनू। तिनीहरूले खोपेका प्रतिमाहरू र ढलौटे मूर्तिहरू सबै नष्‍ट गर्नू। अनि तिनीहरूका सबै अल्गा देवस्थानहरू भत्काइदिनू। 
त्यस देशलाई कब्जा गर्नू र त्यहीँ बसोबास गर्नू। किनकि मैले त्यो देश तिमीहरूलाई अधिकार गर्नलाई दिएको छु। 
त्यो देशलाई तिमीहरूका वंशअनुसार चिट्ठा हालेर बाँड्नू। ठूलो दल भएकाहरूलाई ठूला अंश र साना दल भएकाहरूलाई सानै अंश दिनू। तिनीहरूले चिट्ठा हालेर जे पाउँछन्, ती तिनीहरूकै हुनेछन्। त्यस देशलाई तिमीहरूका पुर्ख्यौली कुलअनुसार बाँडिदिनू। 
“ ‘तर यदि तिमीहरूले त्यस देशका बासिन्दाहरूलाई धपाएनौ भने तिमीहरूले बस्‍न दिएका मानिसहरू नै तिमीहरूका आँखामा छेस्का र तिमीहरूका छेउका काँडाजस्तै हुनेछन्। तिमीहरू जहाँ बस्‍नेछौ, त्यस देशमा तिनीहरूले तिमीहरूलाई सताउनेछन्। 
अनि मैले तिनीहरूलाई जे गर्छु भनी सोचेको छु, त्यो म तिनीहरूसँग गर्नेछु।’ ” 
