﻿गन्ती.
28.
याहवेहले मोशालाई भन्‍नुभयो, 
इस्राएलीहरूलाई यो आज्ञा दे, र तिनीहरूलाई भन्: तिमीहरूले मेरा निम्ति तोकिएको समयमा मिठो बास्‍नादार भेटीको रूपमा मेरो अग्निबलि चढाउन नभुल्नू। 
तिनीहरूलाई भन्: तिमीहरूले याहवेहका निम्ति चढाउनुपर्ने अग्निबलिको भेटी यही हो: नियमित रूपमा चढाउने होमबलिका निम्ति निष्खोट दुई वटा एकवर्षे थुमाहरू प्रत्येक दिन चढाउनू। 
एउटा थुमा बिहान र अर्को थुमा साँझमा चढाउनू। 
त्यससँग एक एपाको दशौँ भाग मसिनो पिठोसँग एक चौथाइ हिन पेलिएको जैतुनको तेल पनि मिसाएर चढाउनू। 
याहवेहलाई आगोद्वारा चढाइने मनपर्दो बास्‍नादार अन्‍नबलिको रूपमा सीनै पर्वतमा स्थापित गरिएको नियमित होमबलि यही हो। 
त्यससँग चढाइने अर्घबलिचाहिँ प्रत्येक थुमासँग एक चौथाइ हिन दाखमद्य होस्। याहवेहका निम्ति त्यो अर्घबलि पवित्रस्थानमा खन्याउनू। 
साँझमा दोस्रो थुमालाई पनि बिहानको अन्‍नबलि र अर्घबलि तयार गरेजस्तै गरी तयार गर्नू। यो याहवेहलाई चढाइने मनपर्दो बास्‍नादार अग्निबलि हो। 
“शब्बाथ दिनमा जैतुनको तेलसँग मिसाएको एपाको दश भागको दुई भाग मसिनो पिठोसँग दुई वटा एकवर्षे निष्खोट थुमाहरूको अर्घबलि र अन्‍नबलि भेटी चढाउनू। 
योचाहिँ नियमित चढाइने होमबलि र अर्घबलिबाहेक हरेक शब्बाथ दिनमा चढाइने होमबलि हो। 
“प्रत्येक महिनाको पहिलो दिन याहवेहकहाँ होमबलिका लागि दुई वटा साँढे, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै पशुहरू निष्खोट हुनुपर्छ। 
प्रत्येक साँढेसँग एपाको दश भागको तीन भाग मसिनो पिठो जैतुनको तेलमा मिसाएको अन्‍नबलि चढाउनुपर्छ। एउटा भेडासँग एपाको दश भागको दुई भाग मसिनो पिठो जैतुनको तेलमा मिसाएको अन्‍नबलि हुनुपर्छ; 
अनि प्रत्येक थुमासँग एक एपा मसिनो पिठो जैतुनको तेलसँग मिसाएको अन्‍नबलि हुनुपर्छ। योचाहिँ होमबलिका निम्ति याहवेहलाई मनपर्दो बास्‍नादार आगोद्वारा चढाइने अन्‍नबलि हो। 
प्रत्येक साँढेसँग लगभग आधा हिन दाखमद्यको अर्घबलि होस्। भेडासँग एक तिहाइ हिन र प्रत्येक थुमासँग एक चौथाइ हिन दाखमद्य होस्। योचाहिँ प्रत्येक वर्षको प्रत्येक औँसीमा चढाउने मासिक होमबलि हो। 
अर्घबलिसँग चढाइने नियमित होमबलिबाहेक याहवेहलाई पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका पनि चढाइनुपर्छ। 
“पहिलो महिनाको चौधौँ दिनमा याहवेहको निस्तार चाड मनाइनुपर्छ। 
त्यस महिनाको पन्ध्रौँ दिनमा चाड मनाउनू; सात दिनसम्म अखमिरी रोटी खानू। 
यस चाडको पहिलो दिन पवित्र सभा होस्; त्यस दिन तिमीहरूले आफ्ना दैनिक काम नगर्नू। 
याहवेहलाई अग्निबलि चढाउन दुई वटा बाछाहरू, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरू, सबै निष्खोट पशुहरू समावेश गर्दै होमबलिको रूपमा चढाउनू। 
अन्‍नबलिका लागि प्रत्येक साँढेका निम्ति जैतुनको तेलसँग मिसाएको एपाको दश भागको तीन भाग मसिनो पिठो; साँढभेडासँग दश भागको दुई भाग मसिनो पिठो; 
र सातै वटा थुमाहरू हरेकसँग दश भागको एक भाग पिठोको अन्‍नबलि तयार गर्नू। 
त्यसमा पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका तिमीहरूका प्रायश्‍चितका लागि लिनू। 
बिहानको नियमित होमबलिबाहेक यी सबै बलिहरूलाई चढाउनू। 
यस प्रकारले याहवेहलाई मनपर्दो बास्‍नादार भेटीको रूपमा सात दिनसम्म अग्निबलि प्रत्येक दिन चढाउनू। योचाहिँ नियमित चढाइने होमबलि र अर्घबलिबाहेक चढाउनुपर्छ। 
सातौँ दिनमा एउटा पवित्र सभा राख्नू; र त्यस दिन कुनै दैनिक काम नगर्नू।” 
अगौटे फलको दिनमा, साताहरूका चाडको समयमा जब तिमीहरूले याहवेहलाई नयाँ अन्‍नको भेटी चढाउँछौ, तब पवित्र सभा राख्नू। अनि त्यस दिन कुनै दैनिक काम नगर्नू। 
दुई वटा बहर, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरूका होमबलि याहवेहलाई मनपर्दो बास्‍नादार अन्‍नबलिको रूपमा चढाउनू। 
प्रत्येक साँढेसँग अन्‍नबलिका लागि एपाको दश भागको तीन भाग मसिनो पिठो जैतुनको तेलसँग मिसाएको; भेडासँग दश भागको दुई भाग मसिनो पिठो; 
र प्रत्येक सात वटा थुमाहरूसँग दश भागको एक भाग मसिनो पिठो चढाउनू। 
तिमीहरूका पापको प्रायश्‍चितका निम्ति एउटा बोका पनि लिनू। 
यी कुराहरू तिनीहरूका अर्घबलिसँग नियमित होमबलि र अन्‍नबलिबाहेक चढाउनू। पशुहरूचाहिँ निश्‍चित रूपमा निष्खोट हुनुपर्छ। 
