﻿गन्ती.
15.
याहवेहले मोशालाई भन्‍नुभयो, 
“इस्राएलीहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘जब तिमीहरू मैले दिएको देशमा बसोबास गर्न पुग्छौ, 
तब याहवेहलाई मनपर्दो मिठो बास्‍नाका निम्ति भनेर आफ्नो गाईबस्तुका बथान अथवा भेडाबाख्राका बगालबाट एउटा पशु लिएर त्यसलाई याहवेहका निम्ति तिमीहरूले अग्निबलि चढाउनू—चाहे त्यो होमबलि, विशेष भाकलको बलि, स्वेच्छिक भेटीहरू अथवा चाडमा चढाइने बलिदानहरू हुन्। 
तब जसले आफ्नो भेटी ल्याउँछ, त्यसले एक चौथाइ हिन जैतुनको तेल मिसाएको एक एपाको दशौँ भाग मसिनो पिठो मिसाएको अन्‍नबलि याहवेहलाई चढाओस्। 
होमबलि अथवा बलिदान चढाउनका निम्ति हरेक थुमासँग अर्घबलिको रूपमा एक चौथाइ हिन दाखमद्य तयार पारोस्। 
“ ‘एउटा भेडासँग एक हिनको तीस भाग जैतुनको तेलमा एक एपाको बीसौँ भाग मसिनो पिठो मिसाएको अन्‍नबलि, 
अनि अर्घबलिको रूपमा एक हिनको तीन भाग दाखमद्य तयार पार्नू। त्यो याहवेहलाई मनपर्दो मिठो बास्‍नाको रूपमा भेटीको रूपमा चढाउनू। 
“ ‘जब तैँले विशेष भाकलको निम्ति अथवा याहवेहका निम्ति मेलबलिको रूपमा एउटा बहर तयार पार्नेछस्, 
तब त्यस बहरसँग आधा हिन जैतुनको तेल मिसाएको एपाको दश भागको तीन भाग मसिनो पिठोको अन्‍नबलि ल्याउनू। 
अनि आधा हिन दाखमद्य पनि अर्घबलिको रूपमा ल्याउनू। योचाहिँ याहवेहलाई मनपर्दो मिठो बास्‍नाको रूपमा आगोद्वारा चढाइएको भेटी हुनेछ। 
प्रत्येक बहर अथवा भेडा, थुमा अथवा कलिलो पाठोलाई यसरी नै तयार पार्नू। 
जतिका निम्ति पशुबलि तयार गर्छौ, हरेक बलिका निम्ति यसरी नै तयार गर्नू। 
“ ‘स्वदेशमा जन्मने हरेकले याहवेहका निम्ति मनपर्दो मिठो बास्‍नाको रूपमा आगोद्वारा चढाइने बलि चढाउँदा यसरी नै गरोस्। 
किनकि आउने पुस्ताहरूमा पनि तिमीहरूसँग बसोबास गर्ने परदेशी होस्, अथवा जोसुकैले पनि याहवेहलाई मनपर्दो मिठो बास्‍नाको रूपमा आगोद्वारा भेटी चढाउँदा तिनीहरूले पनि ठिक तिमीहरूले गरेजस्तै गरून्। 
समुदायमा तिमीहरूका निम्ति र तिमीहरूसँग बसोबास गर्ने परदेशीहरूका निम्ति एउटै नियम लागू हुनेछ। योचाहिँ आउनेवाला पुस्ताका लागि सधैँभरिको विधि हो। याहवेहको सामु तिमीहरू र परदेशीहरू एउटै हौ। 
तिमीहरू र तिमीहरूसँग बसोबास गर्ने परदेशीहरू दुवैका निम्ति एउटै नियम र विधिहरू लागू हुनेछन्।’ ” 
याहवेहले मोशालाई भन्‍नुभयो, 
“इस्राएली मानिसहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘जब तिमीहरू मैले लैजाँदैगरेको देशमा प्रवेश गर्नेछौ, 
तब तिमीहरूले त्यस देशको भोजन खाँदा एक भाग भेटीको रूपमा याहवेहलाई चढाउनू। 
तिमीहरूको खलाबाट आएको पहिलो नयाँ फसलको अन्‍नको पिठोबाट बनाएको रोटी भेटीको रूपमा चढाउनू। 
आउने पुस्ताभरि नै तिमीहरूले याहवेहलाई आफ्नो जमिनको पहिलो बालीको पिठोबाट अगौटे भेटी चढाउनू। 
“ ‘यदि याहवेहले मोशालाई दिनुभएको आज्ञाहरूलाई अनजानमा तिमीहरूले पूरा गर्न सकेनौ भने 
अर्थात् याहवेहले मोशाद्वारा दिनुभएका आज्ञाहरू, उहाँले दिनुभएको दिनदेखि अहिलेसम्म र आउने पुस्ताहरूले पनि यी आज्ञाहरू पालन गर्न चुके भने— 
र यदि तिमीहरूले यी समुदायले थाहा नपाई अनजानमा गर्‍यौ भने सारा समुदायले याहवेहका निम्ति मनपर्दो मिठो बास्‍नाको रूपमा होमबलिको निम्ति एउटा बहर, साथै तोकिएको अन्‍नबलि र अर्घबलि अनि पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका पनि चढाउनू। 
पुजारीले सारा इस्राएली समुदायका निम्ति पापको प्रायश्‍चित गरोस्, र तिनीहरूलाई क्षमा हुनेछ। किनकि त्यो तिनीहरूले अनजानमा गरेको भूल हुनाले याहवेहकहाँ अन्‍नबलि र पाप शुद्धीकरण बलि ल्याएका हुन्। 
सारा इस्राएली समुदाय र तिनीहरूसँग बसोबास गर्ने परदेशीहरूले पनि क्षमा पाउनेछन्। किनभने ती सबै मानिसहरूले अनजानमा भूल गरेका थिए। 
“ ‘तर यदि एक जनाले मात्र अनजानमा पाप गर्‍यो भने त्यसले पाप शुद्धीकरण बलिका निम्ति बाख्राको एकवर्षे पाठी ल्याओस्। 
पुजारीले अनजानमा पाप गर्ने त्यस व्यक्तिका निम्ति याहवेहको सामु प्रायश्‍चित गरोस्; र त्यसका निम्ति प्रायश्‍चित भएपछि त्यसलाई क्षमा हुनेछ। 
अनजानमा पाप गर्ने व्यक्ति स्वदेशमा जन्मेको इस्राएली होस्, अथवा तिमीहरूको बीचमा बसोबास गर्ने विदेशी होस्, सबैका निम्ति एउटै नियम लागू हुनेछ। 
“ ‘तर चाहे स्वदेशमा जन्मेको होस्, अथवा विदेशी होस्, यदि कसैले अनादरपूर्वक जानाजानी पाप गर्‍यो र याहवेहको नामको निन्दा गर्‍यो भने त्यस व्यक्तिलाई इस्राएली समाजबाट बहिष्कार गरिनुपर्छ। 
किनभने तिनीहरूले याहवेहको वचन तिरस्कार गरे। अनि उहाँका आज्ञाहरू भङ्ग गरेको कारण तिनीहरूलाई निश्‍चय नै बहिष्कार गरिनुपर्छ। तिनीहरूको दोषको दण्ड तिनीहरूमाथि नै पर्नेछ।’ ” 
इस्राएलीहरू उजाडस्थानमा हुँदा एक जना मानिस विश्रामदिनमा दाउरा बटुलिरहेको भेटियो। 
अनि जसले त्यसलाई दाउरा बटुलिरहेको भेट्टाए, तिनीहरूले त्यसलाई मोशा, हारून र सारा समुदायकहाँ ल्याए। 
अनि त्यसलाई के गर्नुपर्ने हो, स्पष्‍ट थाहा भएन। यसैले तिनीहरूले त्यसलाई थुनामा राखे। 
तब याहवेहले मोशालाई भन्‍नुभयो, “त्यो मानिस मर्नैपर्छ। सारा समुदायले त्यसलाई छाउनीबाहिर ढुङ्गाले हानेर मार्नुपर्छ।” 
यसकारण समुदायले त्यसलाई छाउनीबाहिर लगेर याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार ढुङ्गाले हानेर मारे। 
याहवेहले मोशालाई भन्‍नुभयो, 
“इस्राएलीहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘आउने पुस्ताभरिका लागि तिमीहरूका वस्त्रहरूका कुनामा निलो धागोको झुम्काहरू बनाउनू। 
यी झुम्काहरू तिमीहरूले हेर्नलाई होस्, जसद्वारा तिमीहरूले याहवेहका सबै आज्ञाहरू सम्झनेछौ। अनि तिमीहरूका हृदय र आँखाका अभिलाषालाई पछ्याएर पथभ्रष्‍ट नभई उहाँको आज्ञाहरू पालन गर्नेछौ। 
तब तिमीहरूले मेरा सबै आज्ञाहरू पालन गर्नलाई याद गर्नेछौ। अनि तिमीहरू आफ्ना परमेश्‍वरका निम्ति पवित्र हुनेछौ। 
म याहवेह तिमीहरूका परमेश्‍वर हुँ। मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।’ ” 
