﻿प्रस्थान.
40.
तब याहवेहले मोशालाई भन्‍नुभयो: 
“महिनाको पहिलो दिन समागम पालको भेट हुने पाल खडा गर्नू। 
त्यसमा करारको सन्दुक राखेर त्यसलाई पर्दाले ढाक्नू। 
टेबुल भित्र ल्याउनू र त्यसका सबै सरसामानहरू त्यसमाथि राख्नू। त्यसपछि सामदान भित्र ल्याउनू र दियाहरू मिलाउनू। 
करारको सन्दुकको अगाडिपट्टि धूपको निम्ति सुनको वेदी राख्नू; अनि समागम पालको ढोकामा पर्दा लगाउनू। 
“समागम पालको भेट हुने पाल अगाडिपट्टि होमबलिको वेदी राख्नू। 
भेट हुने पाल र वेदीको बीचमा बाटामा पानी भरेर राख्नू। 
यसको वरिपरि आँगन बनाउनू, र यसको ढोकामा पर्दा लगाउनू। 
“अभिषेक गर्ने तेलले समागम पाल र त्यहाँ भएका सबै सरसामानहरूलाई अभिषेक गर्नू, त्यसलाई र त्यसका सबै सरसामानहरूलाई नै शुद्ध गर्नू, र त्यो पवित्र हुनेछ। 
त्यसपछि होमबलिको वेदी र त्यसको सबै सरसामानहरूलाई अभिषेक गर्नू, र त्यो महा-पवित्र हुनेछ। 
पानीको बाटा र त्यसको खुट्टालाई अभिषेक गरी शुद्ध गर्नू। 
“हारून र तिनका छोराहरूलाई भेट हुने पालको ढोकामा ल्याउनू, र तिनीहरूलाई पानीले धुनू। 
अनि हारूनलाई पवित्र पोशाक पहिर्‍याएर अभिषेक गर्नू र शुद्ध गर्नू; ताकि त्यसले पुजारी भई मेरो सेवा गरोस्। 
त्यसका छोराहरूलाई ल्याउनू, र लबेदा पहिर्‍याइदिनू। 
तिनीहरूका पितालाई अभिषेक गरेजस्तै तैँले तिनीहरूलाई पनि अभिषेक गर्नू, ताकि तिनीहरूले पुजारी भई मेरो सेवा गरून्। अनि तिनीहरूको अभिषेक एक पुजारी भई तिनीहरूका पुस्तामा निरन्तर रहनेछ।” 
याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार नै तिनले त्यो गरे। 
यसरी दोस्रो वर्षको पहिलो महिनाको, पहिलो दिनमा समागम पाल खडा गरियो। 
जब मोशाले समागम पाल खडा गरे, तिनले त्यसका आधारहरू र फल्याकहरू खडा गरी बारहरू लगाए, र त्यसका खाँबाहरू गाडे। 
त्यसपछि याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनले समागम पालमाथि पाल फैलाएर त्यसको माथिपट्टि छत लगाए। 
तिनले साक्षी पाटी ल्याई त्यसलाई सन्दुकभित्र राखे, र त्यसमा डण्डाहरू राखे, र सन्दुकमाथि पाप समाधान-स्थान राखे। 
त्यसपछि तिनले त्यो सन्दुकलाई समागम पालभित्र ल्याए, र त्यसलाई पर्दाले ढाकिदिए; जस्तो याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो। 
मोशाले भेट हुने पालमा समागम पालको उत्तरपट्टिको पर्दाको बाहिरपट्टि टेबुल राखे। 
याहवेहले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले याहवेहको सामु टेबुलमा रोटी सजाएर राखे। 
मोशाले भेट हुने पालभित्र समागम पालको दक्षिणतर्फको भागमा टेबुलको विपरीत सामदान राखे; 
अनि याहवेहले आज्ञा गर्नुभएअनुसार तिनले याहवेहको सामु दियाहरू बाले। 
भेट हुने पालको पर्दाको सामु मोशाले सुनको वेदी बनाए; 
अनि याहवेहले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले सुगन्धित धूप बाले। 
त्यसपछि तिनले समागम पालको ढोकामा पर्दा लगाए। 
याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनले समागम पालको भेट हुने पालको ढोकाको नजिक वेदी बनाएर होमबलि र अन्‍नबलि चढाए। 
तिनले समागम पाल र वेदीको बीचमा बाटा राखेर धुनलाई त्यसमा पानी भरे। 
अनि मोशा, हारून र तिनका छोराहरूले त्यसबाट आ-आफ्ना हातहरू र खुट्टाहरू धोए। 
तिनीहरू जहिले-जहिले भेट हुने पाल, अर्थात् वेदीको नजिक आउँथे, तब तिनीहरूले आ-आफ्ना हातहरू र खुट्टाहरू धुने गर्दथे; जस्तो याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो। 
त्यसपछि मोशाले याहवेहले आज्ञा गर्नुभएअनुसार वेदी खडा गरे र आँगनको ढोकामा पर्दा लगाए। यसरी मोशाले काम सिद्ध्याए। 
तब भेट हुने पाललाई बादलले ढाक्यो, र समागम पाल याहवेहको महिमाले भरियो। 
मोशाचाहिँ भेट हुने पालभित्र पस्‍न सकेनन्; किनकि बादल त्यसमाथि बसिरह्‍यो र याहवेहको महिमाले समागम पाल भरियो। 
इस्राएलीहरूका सबै यात्राभरि जहिले-जहिले त्यो बादल समागम पालबाट उठ्थ्यो, तब तिनीहरू अगाडि बढ्थे; 
तर यदि बादल उठेर गएन भने नउठेको त्यस दिनसम्म तिनीहरू हिँड्दैनथे। 
यसरी सारा इस्राएलीहरूले तिनीहरूका सबै यात्राभरि समागम पालमाथि दिनमा याहवेहको बादल र राति बादलमा आगो देख्थे।
