﻿प्रस्थान.
31.
तब याहवेहले मोशालाई भन्‍नुभयो, 
“हेर्, मैले यहूदा कुलको हूरको नाति ऊरीको छोरा बजलेललाई चुनेको छु। 
अनि मैले त्यसलाई मेरो आत्मा, बुद्धि, समझ, ज्ञान र कारिगरीका सबै दक्षताले भरेको छु। 
त्यसले सुन, चाँदी र काँसोका कामहरू, 
पत्थर काटेर जड्ने काम, काठको काम, र सबै किसिमका कारिगरी गर्नेछ। 
यसबाहेक त्यसलाई सघाउन भनी मैले दानको कुलको अहीसामाकको छोरा ओहोलीआबलाई नियुक्त गरेको छु। 
“समागम पाल, साक्षी पाटीको सन्दुक, र त्यसमाथि भएको पाप समाधान-स्थान, र पालका अरू सबै सामग्रीहरू— 
टेबुल र त्यसका सामग्रीहरू, निखुर सुनको सामदान र त्यसका सबै सामग्रीहरू, धूपको वेदी, 
होमबलिको वेदी र त्यसका सबै पात्रहरू, काँसोका बाटा र त्यसलाई उभ्याउने सामानहरू— 
बुनेका पोशाकहरू पनि, हारून पुजारीका पवित्र पोशाकहरू, पुजारी भई सेवा गर्दा लगाउने तिनका छोराहरूका पोशाकहरू, 
अभिषेक गर्ने तेल र पवित्रस्थानको लागि सुगन्धित धूप। 
तब याहवेहले मोशालाई भन्‍नुभयो, 
“इस्राएलीहरूलाई भन्, ‘तिमीहरूले मेरो शब्बाथ दिन पालन गर्नू। आउने पुस्ताहरूका लागि मेरो र तिमीहरू बीचको चिन्ह यो हुनेछ, ताकि तिमीहरूले जान्‍नेछौ कि म याहवेह हुँ, जसले तिमीहरूलाई पवित्र बनाउँछु। 
“ ‘शब्बाथ दिन मान्‍नू; किनकि यो दिन तिमीहरूका लागि पवित्र छ। जसले यसलाई अपवित्र पार्छ, त्यो मारिनुपर्छ; जसले यस दिनमा काम गर्छ, त्यसलाई मानिसहरूबाट बहिष्कार गरिनुपर्छ। 
छ दिनसम्म काम गरिनुपर्छ, तर सातौँ दिनचाहिँ शब्बाथ दिन हो, जुन याहवेहका निम्ति पवित्र छ। जसले शब्बाथ दिनमा काम गर्छ, त्यो मारिनुपर्छ। 
इस्राएलीहरूले शब्बाथ दिनलाई आउने पुस्ताहरूका लागि सधैँको करारको रूपमा मनाउनुपर्छ। 
मेरो र इस्राएलीहरूको बीचमा यो अनन्तका लागि चिन्ह हुनेछ; किनकि याहवेहले छ दिनमा आकाश र पृथ्वी बनाउनुभयो; अनि सातौँ दिनमा उहाँले काम गर्नुभएन, तर आरामले विश्राम लिनुभयो।’ ” 
परमेश्‍वरले मोशासित सीनै पर्वतमा कुरा गरिसक्नुभएपछि उहाँका आफ्ना औँलाले लेखेका दुई वटा साक्षीका ढुङ्गा पाटीहरू उनलाई दिनुभयो। 
