﻿प्रस्थान.
7.
तब याहवेहले मोशालाई भन्‍नुभयो, “हेर्, मैले तँलाई फारोको निम्ति ईश्‍वरतुल्य बनाएको छु, र तेरा दाजु हारूनचाहिँ तेरा निम्ति प्रवक्ता हुनेछ। 
मैले तँलाई आज्ञा गरेका प्रत्येक कुरा तैँले भन्‍नू, र तेरा दाजु हारूनले फारोलाई भनून्, कि त्यसले इस्राएलीहरूलाई त्यसको देशबाट बाहिर पठाइदेओस्। 
तर म फारोको हृदय कठोर पारिदिनेछु, र म इजिप्टमा अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरूका संख्या बढाउनेछु। 
तर फारोले तेरो कुरा सुन्‍नेछैन। तब म इजिप्ट देशमाथि मेरो हात पसार्नेछु, र न्यायका शक्तिशाली कार्यहरूद्वारा म मेरा दल, मेरा प्रजा इस्राएलीहरूलाई इजिप्ट देशबाट बाहिर निकालेर ल्याउनेछु। 
जब म आफ्नो हात इजिप्टको विरुद्धमा पसारेर इस्राएलीहरूलाई तिनीहरूको बीचबाट निकालेर बाहिर ल्याउनेछु, तब इजिप्टियनहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।” 
तब मोशा र हारूनले याहवेहले तिनीहरूलाई आज्ञा दिनुभएझैँ गरे। 
तिनीहरूले फारोसित कुरा गर्दा मोशा असी वर्ष र हारून त्रियासी वर्ष पुगेका थिए। 
याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो, 
“जब फारोले तिमीहरूलाई ‘एउटा आश्‍चर्य कर्म गर’ भन्ला, तब हारूनलाई ‘तपाईंको लहुरो लिएर फारोको सामु भुइँमा फालिदिनुहोस्’ भन्‍नू, तब त्यो एउटा सर्प बन्‍नेछ।” 
यसकारण मोशा र हारून फारोकहाँ गएर याहवेहले आज्ञा गर्नुभएझैँ गरे। हारूनले फारो र उनका अधिकारीहरूको सामु आफ्नो लहुरो भुइँमा फाले, र त्यो एउटा सर्प बन्यो। 
तब फारोले बुद्धिमान् मानिसहरू र तन्त्रमन्त्र गर्नेहरूलाई बोलाए; अनि इजिप्टका जादुगरहरूले पनि आफ्ना गुप्‍त कलाद्वारा त्यस्तै कामहरू गरे: 
प्रत्येकले आफ्नो लहुरो भुइँमा फाले, र त्यो सर्प भयो। तर हारूनको लहुरोले उनीहरूका लहुरोहरूलाई निलिदियो। 
तैपनि फारोको हृदय कठोर भयो, र याहवेहले भन्‍नुभएझैँ, उनले तिनीहरूका कुरा सुनेनन्। 
तब याहवेहले मोशालाई भन्‍नुभयो, “फारोको हृदय कठोर भएको छ; त्यसले मानिसहरूलाई जान दिँदैन। 
बिहान फारो नदीमा गएको बेला त्यसकहाँ जा। नील नदीको किनारमा त्यससँग भेट गर्नलाई पर्खिबस्; अनि सर्पमा परिणत भएको त्यो लहुरो हातमा लिएर जा। 
तब त्यसलाई भन्, ‘याहवेह हिब्रूहरूका परमेश्‍वरले मलाई तपाईंकहाँ यसो भन्‍न पठाउनुभएको छ: मेरा मानिसहरूलाई उजाडस्थानमा मेरो आराधना गर्नलाई जान दे। तर तपाईंले अहिलेसम्म सुन्‍नुभएको छैन। 
याहवेह यसो भन्‍नुहुन्छ: यसद्वारा तैँले म नै याहवेह हुँ भनी जान्‍नेछस्; म मेरो हातमा भएको लहुरोले नील नदीको पानीलाई हिर्काउनेछु, र त्यो रगतमा परिणत हुनेछ। 
नील नदीका माछाहरू मर्नेछन्, र नदीको पानी साह्रै गन्हाउनेछ, र इजिप्टियनहरूले त्यस नदीको पानी पिउन सक्नेछैनन्।’ ” 
याहवेहले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन्, ‘आफ्नो लहुरो लिएर इजिप्टका पानीहरू—नदीनालाहरू, पोखरीहरू र सबै जलाशयहरूमाथि तेरो हात पसार—तब ती सबै रगत हुनेछन्।’ इजिप्टका सबै ठाउँहरू, यहाँसम्म कि काठका भाँडाहरू र ढुङ्गाका भाँडाहरूमा समेत रगतै-रगत हुनेछ।” 
मोशा र हारूनले याहवेहले आज्ञा दिनुभएबमोजिम गरे। तिनले फारो र उनका अधिकारीहरूका उपस्थितिमा आफ्नो लहुरो उठाए, र नील नदीको पानीलाई हिर्काए; अनि सबै पानी रगतमा परिणत भयो। 
नील नदीमा भएका माछाहरू मरे, र नदीमा यति नराम्रो गन्ध आउन थाल्यो कि इजिप्टियनहरूले त्यस नदीको पानी पिउन सकेनन्। इजिप्ट देशभरि सबै पानी रगतै-रगत भयो। 
तर इजिप्टका जादुगरहरूले पनि आफ्ना गुप्‍त कलाद्वारा त्यस्तै काम गरे; अनि फारोको हृदय कठोर भयो, र याहवेहले भन्‍नुभएझैँ उनले मोशा र हारूनका कुरा सुनेनन्। 
बरु फारो फर्केर आफ्नो महलमा गए, र यस कुरामाथि ध्यानै दिएनन्। 
अनि सारा इजिप्टियनहरूले पिउने पानीको लागि नील नदीको वरिपरि खने; किनकि उनीहरूले नदीको पानी पिउन सकेनन्। 
याहवेहले नील नदीमाथि प्रहार गर्नुभएको सात दिन बितिसकेको थियो। 
