﻿उत्पत्ति.
29.
तब याकोबले आफ्नो यात्रा जारी गर्दैगए, र पूर्वका जातिहरूको देशमा आए। 
तब उनले त्यहाँ खुला मैदानमा एउटा इनार देखे, जसको छेउमा तीन बगाल भेडाबाख्राहरू बसिरहेका थिए। किनकि गोठालाहरूले त्यही इनारबाट आफ्ना बगाललाई पानी पियाउने गर्थे। इनारको मुखमा राखिएको ढुङ्गा ठूलो थियो। 
जब सबै बगालहरू त्यहाँ भेला हुन्थे; गोठालाहरूले इनारको मुखबाट ढुङ्गा हटाइदिन्थे, र भेडाहरूलाई पानी पियाउँथे। त्यसपछि तिनीहरूले त्यस ढुङ्गालाई फेरि गुडाउँदै ल्याएर इनारको मुख छोपिदिन्थे। 
याकोबले ती गोठालाहरूलाई सोधे, “मेरा भाइहरू हो, तपाईंहरू कुन ठाउँबाट आउनुभएको हो?” तिनीहरूले जवाफ दिए, “हामी हारानबाट आएका हौँ।” 
तिनले तिनीहरूलाई भने, “के तपाईंहरू नाहोरका नाति लाबानलाई चिन्‍नुहुन्छ?” तिनीहरूले जवाफ दिए, “हजुर, हामी उहाँलाई चिन्छौँ।” 
तब याकोबले तिनीहरूलाई सोधे, “के उहाँ कुशलै हुनुहुन्छ?” तिनीहरूले भने, “ज्यू, उहाँ कुशलै हुनुहुन्छ; हेर्नुहोस्, भेडाहरू लिएर आउँदै गरेकी ती केटी उहाँकै छोरी राहेल हुन्।” 
तिनले भने, “हेर्नुहोस्, घाम अझसम्म आकाशमाथि नै छ। यतिखेर बगाललाई भेला गराउने समय भएको छैन। भेडाबाख्राहरूलाई पानी पियाउनुहोस्; र फेरि चराउन लानुहोस्।” 
तिनीहरूले भने, “सबै बगाल भेला नभएसम्म इनारको मुखबाट हामी ढुङ्गा हटाउन सक्दैनौँ। त्यसपछि हामी भेडाबाख्राहरूलाई पानी पियाउँछौँ।” 
याकोब उनीहरूसित कुरा गर्दैगर्दा राहेल आफ्ना पिताका भेडाहरू लिएर आइपुगिन्; किनकि तिनी भेडा गोठाल्नी थिइन्। 
जब याकोबले आफ्नी आमाका दाजु लाबानकी छोरी राहेल र लाबानका भेडाहरू देखे, तब तिनी गएर इनारको मुखबाट ढुङ्गा हटाएर आफ्ना मामाका भेडाहरूलाई पानी पियाए। 
तब याकोबले राहेललाई म्वाइँ खाए, र डाँको छोडेर रुन लागे। 
याकोबले राहेललाई आफू तिनका पिताका नातेदार र रिबेकाको छोरो हुँ भनेर बताए। त्यसैले राहेल दगुरेर गइन्, र आफ्ना पितालाई भनिन्। 
लाबानले जब आफ्नी बहिनीको छोरा याकोबको विषयमा खबर सुने, तब तिनी उनलाई भेट्न हतारसाथ गए। तिनले उनलाई अङ्कमाल गरे, र म्वाइँ खाए, र तिनलाई घरमा ल्याए; अनि याकोबले तिनलाई त्यहाँ यी सबै कुराहरू भनिदिए। 
तब लाबानले भने, “तिमी मेरै मासु र रगत हौ।” याकोब तिनीसित एक महिना बसेपछि, 
लाबानले याकोबलाई भने, “हुन त तिमी मेरा नातेदार हौ, तर यसो भन्दैमा तिमीले सित्तैँमा मेरो सेवा गर्नुपर्छ र? तिम्रो ज्याला कति हुनुपर्ने हो, मलाई भन।” 
लाबानका दुई छोरीहरू थिए; जेठीको नाम लेआ, र कान्छीको नाम राहेल थियो। 
लेआका आँखा कमजोर थिए, तर राहेलचाहिँ राम्रो बनोट भएकी र सुन्दरी थिइन्। 
याकोबले राहेललाई प्रेम गर्थे, त्यसैले उनले लाबानलाई भने, “म तपाईंकी कान्छी छोरी राहेलका निम्ति तपाईंसित सात वर्ष सेवा गर्नेछु।” 
लाबानले भने, “मैले यसलाई अरू मानिसलाई दिनुभन्दा त तिमीलाई दिनु नै असल हो। मसित यहीँ बस।” 
यसकारण राहेललाई पाउनका लागि याकोबले सात वर्षसम्म सेवा गरे; तर तिनले उनलाई प्रेम गरेको कारण याकोबका लागि ती थोरै दिनजस्तो मात्र लाग्यो। 
तब याकोबले लाबानलाई भने, “मलाई मेरी पत्नी दिनुहोस्। मेरो समय पूरा भयो, र म तिनीसँग सहवास गर्न चाहन्छु।” 
यसकारण लाबानले त्यस ठाउँका सबै मानिसहरूलाई एकसाथ बोलाएर भोज दिए। 
तर जब साँझ भयो, तिनले आफ्नी छोरी लेआलाई ल्याएर याकोबलाई दिए। अनि याकोबले तिनीसित सहवास गरे। 
अनि लाबानले आफ्नी दासी जिल्पालाई आफ्नी छोरी लेआकी सेविका हुनलाई दिए। 
जब बिहान भयो, राहेलको सट्टा लेआ पो त्यहाँ रहिछिन्! यसकारण याकोबले लाबानलाई भने, “यो तपाईंले मलाई के गर्नुभयो? के मैले राहेलका निम्ति तपाईंको सेवा गरेको होइनँ र? तपाईंले मलाई किन धोका दिनुभयो?” 
लाबानले जवाफ दिए, “यहाँ हाम्रो परम्पराअनुसार कान्छीको विवाह जेठीभन्दा पहिले गर्नुहुँदैन। 
यस छोरीसित एक साता वैवाहिक उत्सव पूरा गर, र तिमीले अर्को सात वर्ष मेरो सेवा गर; तब तिमीलाई कान्छी छोरी पनि दिनेछौँ।” 
अनि याकोबले त्यस्तै गरे। तिनले लेआसित एक हप्‍ता बिताए; अनि लाबानले आफ्नी छोरी राहेललाई तिनकी पत्नी हुनलाई दिए। 
अनि लाबानले आफ्नी सेविका बिल्हालाई आफ्नी छोरी राहेलकी सेविका हुनलाई दिए। 
याकोबले राहेलसित सहवास गरे; अनि तिनले लेआलाई भन्दा राहेललाई बढी प्रेम गरे। अनि तिनले अर्को सात वर्ष लाबानको सेवा गरे। 
जब याहवेहले लेआलाई प्रेम नपाएकी देख्नुभयो, तब उहाँले तिनको कोख खोलिदिनुभयो; तर राहेलचाहिँ बाँझी रहिन्। 
लेआ गर्भवती भइन् र तिनले एउटा छोरा जन्माइन्। तिनले उसको नाम रूबेन राखिन्; किनकि तिनले भनिन्, “योचाहिँ याहवेहले मेरो कष्‍ट देख्नुभएको कारणले हो। निश्‍चय नै मेरा पतिले अब मलाई प्रेम गर्नुहुनेछ।” 
तिनी फेरि गर्भवती भइन्, र अर्को छोरा जन्माउँदा तिनले भनिन्, “किनकि मैले प्रेम पाइनँ भनेर याहवेहले सुन्‍नुभएको छ; र उहाँले मलाई यो छोरा पनि दिनुभयो।” यसकारण तिनले त्यसको नाम शिमियोन राखिन्। 
तिनी फेरि गर्भवती भइन्, र अर्को छोरा जन्माउँदा तिनले भनिन्, “अब यस पटक त मेरा पति मसँगै मिल्न आउनुहुनेछ; किनकि मैले उहाँका निम्ति तीन वटा छोरा पाइसकेँ।” यसकारण त्यसको नाम लेवी राखियो। 
तिनी फेरि गर्भवती भइन्, र त्यो छोरा जन्माउँदा तिनले भनिन्, “यस पटक म याहवेहको प्रशंसा गर्नेछु।” यसकारण तिनले त्यसको नाम यहूदा राखिन्। त्यसपछि तिनले छोराछोरी जन्माउन छोडिन्। 
