﻿उत्पत्ति.
22.
केही समयपछि परमेश्‍वरले अब्राहामलाई जाँच गर्नुभयो। उहाँले तिनलाई बोलाउनुभयो, “अब्राहाम!” तिनले जवाफ दिए, “हजुर, म यहाँ छु।” 
तब परमेश्‍वरले भन्‍नुभयो, “तैँले माया गरेको, तेरो एक मात्र छोरा, इसहाकलाई लिएर मोरीयाहको भूमिमा जा। म तँलाई जुन डाँडा देखाउनेछु, त्यहाँ त्यसलाई होमबलिको रूपमा चढा।” 
भोलिपल्ट बिहानै अब्राहाम उठे, र आफ्नो गधामा काठी कसे। अनि तिनले सेवकहरूमध्ये दुई जनालाई र आफ्नो छोरा इसहाकलाई आफ्नो साथमा लगे। तिनले होमबलिका निम्ति पर्याप्‍त दाउरा काटिसकेपछि परमेश्‍वरले तिनलाई भन्‍नुभएको त्यस ठाउँतिर हिँडे। 
तेस्रो दिनमा अब्राहामले आँखा उठाएर हेरे, र टाढैबाट त्यस ठाउँलाई देखे। 
तब अब्राहामले आफ्ना सेवकहरूलाई भने, “म र यो केटो अलिक पर जानेछौँ, र तिमीहरूचाहिँ यहीँ गधासँग बस। हामी आराधना गर्नेछौँ, र तिमीहरूकहाँ फर्केर आउनेछौँ।” 
अब्राहामले होमबलिको दाउरा उठाए र आफ्नो छोरा इसहाकलाई त्यो बोक्न लगाए; अनि तिनी आफूले चाहिँ आगो र छुरी बोके। ती दुई जब सँगै जाँदैथिए, 
तब इसहाकले आफ्ना बुबा अब्राहामलाई भने, “बुबा!” अब्राहामले जवाफ दिए, “भन्, मेरो छोरा!” इसहाकले भने, “आगो र दाउरा त यहाँ छन्, तर होमबलिका लागि थुमाचाहिँ कहाँ छ त?” 
अब्राहामले जवाफ दिए, “हेर् छोरा, परमेश्‍वरले नै होमबलिको निम्ति थुमा जुटाइदिनुहुनेछ।” त्यसपछि ती दुवै सँगसँगै हिँड्दै अगि बढे। 
जब तिनीहरू परमेश्‍वरले भन्‍नुभएको त्यस ठाउँमा आइपुगे, तब अब्राहामले त्यहाँ एउटा वेदी बनाए; र त्यसमाथि दाउरा मिलाएर राखे। अनि तिनले आफ्नो छोरा इसहाकलाई बाँधे, र वेदीमा दाउरामाथि राखे। 
तब अब्राहामले आफ्नो छोरालाई मार्न भनी हात छुरीतिर अगि बढाए। 
तर स्वर्गबाट याहवेहका दूतले तिनलाई यसो भनेर बोलाए, “अब्राहाम! ए अब्राहाम!” तिनले जवाफ दिए, “हजुर, म यहाँ छु।” 
अनि उनले भने, “त्यस केटामाथि हात नउठा। त्यसलाई केही नगर्। तँ परमेश्‍वरको डर मान्‍ने मानिस रहेछस् भनी अब मलाई थाहा भयो; किनकि आफ्नो एक मात्र छोरालाई बलिदान चढाउनदेखि तँ पछि हटिनस्।” 
तब त्यही समय अब्राहामले नजिकै झाडीमा सिङ अल्झेर बसेको एउटा साँढ-भेडा देखे। त्यसपछि तिनले त्यस भेडालाई ल्याए; अनि त्यसलाई आफ्नो छोराको सट्टामा होमबलिको रूपमा चढाए। 
यसकारण अब्राहामले त्यस ठाउँलाई “याहवेह-यिरे” भनेर नाम राखे; अनि आजसम्म “याहवेहको पर्वतमा जुटाइनेछ” भन्‍ने चलन छ। 
तब याहवेहका दूतले स्वर्गबाट अब्राहामलाई दोस्रोपल्ट बोलाए, 
र भने, “मैले आफ्नै नाममा शपथ खाएको छु, भनी याहवेह घोषणा गर्नुहुन्छ, कि तैँले यो काम गरेको छस्, र तैँले आफ्नो एक मात्र छोरालाई मबाट नरोकेको कारण, 
म निश्‍चय तँलाई आशिष् दिनेछु; अनि तेरा सन्तानहरूलाई आकाशका ताराझैँ र समुद्रको किनारका बालुवाजस्तै असंख्य वृद्धि गर्नेछु। तेरा सन्तानहरूले आफ्ना शत्रुहरूका सहरहरू अधिकारमा लिनेछन्; 
अनि तेरा सन्तानहरूद्वारा पृथ्वीका सबै राष्ट्रहरूले आशिष् पाउनेछन्; किनकि तैँले मेरो आज्ञापालन गरेको छस्।” 
तब अब्राहाम आफ्ना सेवकहरूकहाँ फर्केर आए; अनि तिनीहरूसँगै बेर्शेबातिर गए, र तिनी बेर्शेबामै बस्‍न थाले। 
केही समयपछि अब्राहामकहाँ यस्तो खबर आयो, “मिल्का पनि आमा भइन्; तिनले तपाईंका दाजु नाहोरका निम्ति छोराहरू जन्माएकी छिन्: 
जेठोको नाम ऊज र माहिलोको नाम बूज; अनि साहिँलोको नाम कमूएल (अरामका पिता) हो; 
अरू छोराहरूका नाम केसेद, हजो, पिलदाश, यिदलाप र बतूएल हो।” 
बतूएल रिबेकाका पिता भए। 
नाहोरकी उपपत्नीको नाम रूमा थियो; तिनले पनि छोराहरू जन्माइन्: तिनीहरूका नाम तेबह, गहम, तहस र माका थिए। 
