﻿उत्पत्ति.
13.
यसरी अब्राम आफ्नी पत्नी र आफूसित भएका सबै थोकहरू लिएर इजिप्टबाट दक्षिणतिर गए, र लोत पनि तिनको पछि लागे। 
अब्राम घरपालुवा पशुहरू, सुन र चाँदीमा प्रशस्त धनवान् भएका थिए। 
दक्षिणबाट धेरै ठाउँहरूहुँदै तिनी बेथेलमा आइपुगे, अर्थात् बेथेल र ऐको बीच ठाउँमा जहाँ पहिले तिनको पाल टाँगिएको थियो 
र त्यहाँ तिनले पहिलो वेदी बनाएका थिए। त्यहाँ अब्रामले याहवेहको नामलाई पुकार गरे। 
अब्रामसित यात्रा गर्ने लोतका पनि भेडाबाख्रा, गाईबस्तुहरूका बथान र पालहरू थिए। 
तर तिनीहरू एकैसाथ रहनका लागि जमिनले धान्‍न सकेन; किनकि तिनीहरूका सम्पत्तिहरू यति धेरै थिए कि तिनीहरू एकैसाथ रहन सकेनन्। 
अनि अब्रामका गोठालाहरू र लोतका गोठालाहरू बीचमा झगडा सुरु भयो। त्यस बेला त्यस देशमा कनानी र परिज्जीहरू पनि बसोबास गर्थे। 
यसकारण अब्रामले लोतलाई भने, “तिम्रो र मेरो बीचमा, र तिम्रा गोठालाहरू र मेरा गोठालाहरू बीचमा झगडा नहोस्; किनकि हामी नजिकका नातेदार हौँ। 
के सम्पूर्ण देश तिम्रो सामु छैन र? हामी अलग होऔँ। तिमी देब्रेतिर गयौ भने म दाहिनेतिर जानेछु; तिमी दाहिनेतिर गयौ भने म देब्रेतिर जानेछु।” 
त्यसपछि लोतले चारैतिर हेरे; सोअरतिरको यर्दनको सबै समथल भूमिलाई याहवेहको बगैँचाझैँ प्रशस्त पानी भएको इजिप्ट देशजस्तै देखे। (योचाहिँ याहवेहले सदोम र गमोरालाई नष्‍ट गर्नु अगिको कुरा थियो।) 
यसकारण लोतले आफ्ना निम्ति यर्दनका सबै समथल भूमिलाई चुने; अनि पूर्वतिर लागे। यसरी यी दुई मानिसहरू एक-अर्काबाट अलग भए। 
अब्राम कनान देशमै बसे, र लोतचाहिँ समथल भूमिका सहरहरूमध्ये एउटामा बसे; अनि तिनले सदोमको छेउमा आफ्ना पालहरू टाँगे। 
सदोमका मानिसहरू दुष्‍ट थिए, र याहवेहको विरुद्धमा घोर पाप गरिरहन्थे। 
अब्रामबाट लोत छुट्टिएपछि याहवेहले अब्रामलाई भन्‍नुभयो, “तँ जहाँ छस्, त्यहाँबाट उत्तर र दक्षिण, पूर्व र पश्‍चिम चारैतिर हेर्। 
तैँले देखेको सबै जमिन तँ र तेरा सन्तानहरूलाई म सदाका निम्ति दिनेछु। 
म तेरा सन्तानहरूलाई पृथ्वीको धुलोझैँ बनाउनेछु, र कसैले धुलो गन्‍न सक्छ भने तेरा सन्तानहरूलाई पनि गन्‍न सक्नेछ। 
जा, त्यस देशको लम्बाइ र चौडाइ वारपार हिँड्; किनकि यो म तँलाई दिँदैछु।” 
यसकारण अब्रामले आफ्नो पाल सारे, र हेब्रोनमा मम्रेका फलाँटका ठूला रूखहरूको छेउमा गएर बसे; त्यहाँ तिनले याहवेहको निम्ति एउटा वेदी बनाए। 
