﻿उत्पत्ति.
5.
आदमको वंशको विवरण यही हो: जब परमेश्‍वरले मानिस जातिलाई सृष्‍टि गर्नुभयो, तब उहाँले तिनलाई परमेश्‍वरको स्वरूपमा बनाउनुभयो। 
उहाँले तिनीहरूलाई पुरुष र स्त्री बनाउनुभयो, र तिनीहरूलाई आशिष् दिनुभयो। तिनीहरूको सृष्‍टि हुँदा उहाँले तिनीहरूलाई “मानिस जाति” नाम दिनुभयो। 
आदम 130 वर्षको हुँदा, तिनीजस्तै तिनको आफ्नै स्वरूपमा एउटा छोरा भयो, र तिनले त्यसको नाम शेत राखे। 
शेतको जन्मपछि आदम 800 वर्षसम्म बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए। 
आदम जम्मा 930 वर्षसम्म बाँचे; अनि तिनी मरे। 
शेतको उमेर 105 वर्षको हुँदा, तिनी एनोशका पिता भए। 
तिनी एनोशका पिता भएपछि शेत 807 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी पनि जन्मिए। 
शेत जम्मा 912 वर्षसम्म बाँचे; अनि तिनी मरे। 
एनोशको उमेर 90 वर्षको हुँदा, तिनी केनानका पिता भए। 
अनि तिनी केनानका पिता भएपछि, एनोश 815 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी भए। 
एनोश जम्मा 905 वर्षसम्म बाँचे; अनि तिनी मरे। 
केनानको उमेर 70 वर्षको हुँदा, तिनी महलालेलका पिता भए। 
अनि तिनी महलालेलका पिता भएपछि, केनान 840 वर्ष बाँचे; र तिनका अरू छोराछोरी जन्मिए। 
केनान जम्मा 910 वर्षसम्म बाँचे; अनि तिनी मरे। 
महलालेलको उमेर 65 वर्षको हुँदा, तिनी येरेदका पिता भए। 
अनि तिनी येरेदका पिता भएपछि, महलालेल 830 बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए। 
महलालेल जम्मा 895 वर्षसम्म बाँचे; अनि तिनी मरे। 
येरेदको उमेर 162 वर्षको हुँदा, तिनी हनोकका पिता भए। 
अनि तिनी हनोकका पिता भएपछि येरेद 800 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए। 
येरेद जम्मा 962 वर्षसम्म बाँचे, र तिनी मरे। 
हनोकको उमेर 65 वर्षको हुँदा, तिनी मतूशेलहका पिता भए। 
अनि तिनी मतूशेलहका पिता भएपछि हनोक परमेश्‍वरसित 300 वर्ष विश्‍वासयोग्य भएर बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए। 
हनोक जम्मा 365 वर्षसम्म बाँचे। 
हनोक परमेश्‍वरसित विश्‍वासयोग्य भएर बाँचे। अनि तिनी अलप भए; किनकि परमेश्‍वरले तिनलाई उठाइलैजानुभयो। 
मतूशेलहको उमेर 187 वर्षको हुँदा, तिनी लेमेकका पिता भए। 
अनि तिनी लेमेकका पिता भएपछि मतूशेलह 782 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए। 
मतूशेलह जम्मा 969 वर्षसम्म बाँचे; अनि तिनी मरे। 
लेमेकको उमेर 182 वर्षको हुँदा, तिनको एउटा छोरा जन्मियो। 
अनि तिनले यसो भनेर त्यसको नाम नोआ राखे, “याहवेहले श्राप दिनुभएको भूमिमा हाम्रा हातले गरेको काम र कष्‍टदायक परिश्रममा यसले हामीलाई सान्त्वना दिनेछ।” 
नोआ जन्मेपछि लेमेक 595 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए। 
लेमेक जम्मा 777 वर्षसम्म बाँचे; अनि तिनी मरे। 
नोआ 500 वर्ष पुगेपछि तिनी शेम, हाम र येपेतका पिता भए। 
