﻿एफिसी.
5.
तिमीहरू परमेश्वरका नानीहरू हौ जसलाई उहाँले प्रेम गर्नु हुन्छ। यसैले परमेश्वर जस्तै हुने कोशीश गर। 
प्रेममय जीवन बिताऊ। ख्रीष्टले हामीलाई प्रेम गर्नु भए जस्तै अरूलाई प्रेम गर। ख्रीष्टले हाम्रा निम्ति आफूलाई सुगन्धित उपहार अनि परमेश्वरको बलिको रूपमा चढाउनुभयो। 
तिमीहरूका विचमा यौन अपराध हुनुहुँदैन। कुनै प्रकारको अनैतिकता अथवा लालच अझै धेरै हुनुहुँदैन। किन? किनभने यस्ता कुराहरू परमेश्वरका जनलाई उचित छैन। 
तिमीहरू माझ नराम्रो बातचीत हुनु हुँदैन। मूर्ख कुरा नगर अनि अनुचित मजाक पनि नगर। यी कुराहरू तिमीहरूलाई ठीक छैन। यसको सट्टामा तिमीहरूले परमेश्वरलाई धन्यवाद दिनुपर्छ। 
यसमा निश्चय होऊः यदि तिनीहरूले यौन अपराध गरे अथवा बेइमान्दारी बने आफ्नै निम्ति लोभी बने भने ख्रीष्ट औ परमेश्वरको राज्यमा तिमीहरूले ठाउँ पाउने छैनौ। लोभी चाँहि मूर्तिपूजक हो। 
मिथ्या कुराले तिमीहरूलाई मूर्ख नबनाओस्। अनाज्ञाकारी मानिसहरूमाथि यस्ता कुराहरूले परमेश्वर रिसाउनु हुन्छ। 
तिनीहरूसित त्यस्तो काम गर्नु हुँदैन। 
बितेका दिनहरूमा अन्धकारले पूर्ण थियौ, तर अहिले तिमी प्रकाशले पूर्ण छौ। यसैले, प्रकाशका बालकहरू जस्तै बाँच। 
प्रकाशले सब किसिमको भलाई, नैतिक जीवन र सत्यता ल्याउँदछ। 
प्रभु के कुराले खुशी हुनुहुन्छ त्यो बुझ्ने कोशिश गर। 
अन्धकारका मानिसहरूले गर्ने काम नगर। त्यस्ता कामहरूले ती अंध्याराका कामहरू मिथ्या हुन भन्ने देखाऊ। 
अन्धकारमा मानिसहरूले गर्ने कुराहरूको चर्चा गर्नु पनि शरमको कुरा हो। 
तर जब हामी ती गुप्तरूपले अँध्यारोमा गरिएका कुराहरु उदाङ्गो बनाउँछौं प्रकाशले ती कुराहरूलाई प्रत्यक्ष पारिदिन्छ। 
अनि ज्योति नै हो जसले हरेक कुरो प्रत्यक्ष पार्छ। त्यसैले हामी भन्छौः “जाग, हे निदाएकाहरू हो! मृत्युबाट उठ, अनि तिमीहरूमाथि ख्रीष्ट चम्कुनु हुनेछ।” 
यसकारण तिमीहरू कसरी जिउँछौ त्यस बारे खुबै सर्तक होऊ। मूर्खहरू जस्तो नबाँच तर बुद्धिमानीपूर्वक बाँच। 
हामीले बाँचेका दिनहरू खराब छन्, यसर्थ आफ्नो समयलाई सुकर्म गर्नमा लगाऊ। 
यसर्थ मूर्ख नबन। सट्टामा, प्रभूले तिमीलाई के गराउन चाहनुहुन्छ, बुझ। 
दाखरस खाएर नमात। त्यसले तिम्रो आत्मिकताको नाश गर्नेछ। आत्माले भरीपूर्ण होऊ। 
आपसमा भजन, स्तुति र आत्मिक गीतहरू सुनाऊ। प्रभुलाई आफ्नो हृदयमा संगीत बनाऊ। 
सधैं सबै कुराको लागि पिता परमेश्वरलाई धन्यवाद देऊ। हाम्र प्रभु येशू ख्रीष्टको नाममा उहाँलाई धन्यवाद देऊ। 
एक-अर्कालाई मान्न इच्छुक होऊ किनकि तिमीहरू ख्रीष्टलाई आदर गर्छौ। 
पत्नीहरू हो, प्रभुको अधीनमा रहे जस्तै आ-आफ्ना पतिको अधीनमा बस। 
जस्तो येशू ख्रीष्ट मण्डलीका शिर हुनुहुन्छ, पति पत्नीका शिर हुन्। मण्डली ख्रीष्टको शरीर हो, त्यसरी ख्रीष्ट शरीरमा रक्षक हुनुहुन्छ। 
जसरी मण्डली ख्रीष्टको अधिकारमा छ त्यसरी पत्निहरू पनि हरेक कुरामा पतिहरूको अधिकारमा रहनु पर्छ। 
पतिहरू हो, आफ्ना पत्नीलाई प्रेम गर जस्तो ख्रीष्टले मण्डलीलाई प्रेम गर्नु भयो। ख्रीष्टले मण्डलीको निम्ति प्राण दिनुभयो। 
मण्डलीलाई पवित्र बनाउनु उहाँले आफ्नो प्राण बलि दिनुभयो। मण्डलीलाई पानीले धोएर शुद्ध पार्न ख्रीष्टले सुसमाचार प्रयोग गर्नुभयो। 
उहाँले मण्डलीलाई महिमित दुलही बनाउनु तथा कलंक, चाउरी वा त्यस्तै कुनै त्रुटिरहित बनाउन तथा उनलाई शुद्ध र निर्दोष पार्नु आफैलाई बलि दिनुभयो। 
अनि पतिहरूले पनि आफ्ना पत्नीहरूलाई त्यसरी नै प्रेम गर्नुपर्छ। आफ्नो शरीरलाई प्रेम गरे जस्तै आफ्नो पत्नीलाई प्रेम गर। पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ। 
अनि कसैले पनि आफ्नो शरीरलाई कहिल्यै धृणा गर्दैन। हरेकले आफ्नो शरीरलाई, स्याहार्छ अनि खाना दिन्छ। अनि मण्डलीको निम्ति ख्रीष्टले पनि त्यसै गर्नु हुन्छ। 
किनकि हामी उहाँको शरीरका अङ्ग हौं। 
धर्मशास्त्रले भन्छ, “त्यसैले मानिसले आफ्ना माता-पितालाई छोड्छ र आफ्नो पत्नीसित मिल्दछ र ती दुई एक हुन्छन्।” 
यो गुप्त सत्यता खुबै महत्वपूर्ण छ। मलाई लाग्छ यसको अभिप्राय ख्रीष्ट र मण्डलीसित छ। 
तर तिमीहरू प्रत्येकले आफ्नो पत्नीलाई प्रेम गर्नु पर्छ जस्तो आफुले आफैंलाई प्रेम गर्छ। अनि पत्नीले पनि आफ्नो पतिलाई आदर गर्नु पर्छ। 
