﻿मत्ती.
12.
त्यो समय, येशू विश्रामको दिनमा अन्नका खेतहरूबाट जानुहुँदै थियो, येशूका चेलाहरू पनि उहाँसँगै थिए। तिनीहरू भोकाएका थिए। ती चेलाहरूले अन्नका बाला टिप्दै खान लागे। 
फसिहीहरूले यो देखेर। तिनीहरूले येशूलाई भने, “हेर्नुहोस्! तपाईंको चेलाहरू विश्रामको दिनमा गर्नु निषेध गरिएका कुरा गर्दैछन्।” 
उहाँले तिनीहरूलाई भन्नुभयो, “दाऊदले, आफैं र आफूसँगका मानिसहरू भोकाउँदा के गरेथे, के तिमीहरूले पढेका छैनौ? 
दाऊद परमेश्वरको घरमा गए। दाऊद र तिनका साथीहरूले परमेश्वरलाई चढाइएको रोटी खाए। दाऊद र तिनका साथीहरूले यसरी रोटी खानु नियमको विरुद्ध थियो। केवल पूजाहारीहरूलाई मात्र त्यस्तो रोटी खाने अनुमति थियो। 
अनि तिमीहरूले मोशाको व्यवस्थामा यो पनि निश्चयनै पढेको हुनुपर्छ कि कसरी प्रत्येक विश्रामको दिनमा पूजारीहरूले मन्दिरमा विश्राम अथवा विश्रामको नियम भङ्ग गर्छन्। तरै पनि पूजाहारीहरूलाई त्यस दोषको निम्ति दोषी ठानिन्दैन। 
म तिमीहरूलाई भन्दछु, ‘यहाँ मन्दिर भन्दा ठूलो’ केही छ। 
धर्मशास्त्रमा भनिएको छ, ‘म पशुहरूको बलिदान चाहन्न। म मानिसहरूमा दया चाहन्छु।’ वास्तवमा तिमीहरू ती शब्दहरूका अर्थ के हो त्यो पनि जान्दैनौ। यदि ती शब्दहरूका अर्थ तिमीहरूले बुझ्यौ भने ती तिमीहरूले निर्दोषहरूलाई न्याय गर्ने थिएनौ। 
“मानिसको पुत्र विश्राम दिनको पनि प्रभु हो।” 
येशू त्यहाँबाट हिँड्नु भयो अनि तिनीहरूको सभाघरमा जानूभयो। 
उहाँले सभाघरमा एउटा सुकेर चाउरिएको हात भएको मानिसलाई देख्नु भयो। केही यहूदीहरू येशूलाई दोष लगाउनलाई निहुँ खोजिरहेका थिए। अनि तिनीहरूले उहाँलाई सोधे, “के विश्रामको दिनमा कसैलाई निको पार्नु न्यायोचित छ?” 
उहाँले भन्नुभयो, “यदि तिमीहरूमध्ये कसैको एउटा भेडा छ, त्यो विश्रामकोदिनमा एउटा खाल्डामा खस्यो भने के आफ्नो हातले समातेर बाहिर तान्दैनौ? 
एउटा मानिस भेडा भन्दा धेरै असल हुन्छ। त्यसर्थ विश्रामको दिनमा भलो गर्न व्यवस्थाले दिन्छ।” 
तब उहाँले त्यस डुँडेहात भएको मानिसलाई भन्नुभयो, “मलाई तिम्रो हात हेर्न देऊ।” त्यसले येशू भएतिर हात पसार्यो। अनि उसको हात, त्यो अर्को हात जस्तै निको भयो। 
तर फरिसीहरू बाहिर गए अनि येशूलाई मार्नका निम्ति योजना बनाए। 
फरिसीहरूले के गर्न लगिरहेका थिए सो येशुलाई थाहा भयो। अनि उहाँले त्यो ठाउँ छोड्नुभयो। धेरै मानिसहरूले उहाँलाई पछ्याउन लागे। उहाँले सबै रोगीहरूलाई निको पारी दिनुभयो। 
उहाँ को हुनुहुन्छ भनेर मानिसहरूलाई केही नभन्नुभनी तिनीहरुलाई येशूले चेताउनी दिनुभएको थियो। 
येशूले यी कुराहरू यशैया अगमवक्ताले भनेका कुराहरू पूर्ण गर्नका निम्ति गर्नु भयो। 
“यहाँ मेरो दास छ, मैले उसलाई चुनेको हुँ। म उसलाई प्रेम गर्छु अनि म उसित खुशी छु। म मेरो आत्मा उसमा हालिदिनेछु, अनि उसले नै अन्य राष्ट्रहरूमाथि न्यायको घोषणा गर्नेछ। 
उसले झगडा गर्नेछैन न त चिच्याउने नै छ; उसको स्वर कसैले पनि गल्लीहरूमा सुन्ने छैन। 
उसले बाङ्गि सकेको निगालो भाँच्ने छैन। उसले जलिहरेको दीयो निभ्दै जाँदैछ भनि निभाउने छैन। उसले यी सबै गरिरहनेछ जबसम्म साँचो न्यायले विजय प्राप्त गर्दैन। 
सबै राष्ट्रहरूले उहाँमाथिनै आशा गर्नेछन्।” 
त्यसपछि केही मानिसहरूले एकजना मानिसलाई येशू कहाँ ल्याए। उ अन्धो थियो अनि बोल्न पनि सक्दैनथ्यो किनकि उसलाई भूत लागेको थियो। उहाँले त्यसलाई निको पार्नुभयो अनि त्यस मानिसले बोल्न अनि देख्न थाल्यो। 
सबै मानिसहरू चकित भए। तिनीहरूले भने, “निश्चयनै यी मानिस नै दाऊदका पुत्र हुन् जसलाई परमेश्वरले हामीकहाँ पठाउने प्रतिज्ञा गर्नु भएको थियो?” 
जब फरिसीहरूले मानिसहरूको मुखबाट यस्तो कुरा सुने तब तिनीहरूले भने, “येशूले मानिसरूबाट भूत भगाउनका निम्ति बालजिबुल शक्तिको प्रयोग गर्दछन्। बालजिबुल भूतहरूको शासक हो।” 
येशूले फरिसीहरूले सोचेका कुरा थाहा पाउनुभयो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “आपसमा झगडा गर्ने कुनै पनि राज्य ध्वंस हुनेछ त्यसै गरी आफैमा विभाजन भएको नगर टिक्ने छैन। त्यसरीनै विभाजन भएको कुनै परिवार सफल हुँदैन। 
यदि शैतानले शैतानलाई निकाल्दछ भने, त्यो आफ्नै विरुद्ध विभाजित हुन्छ। तब कसरी उसको राज्य टिक्न वा चल्न सक्छ? 
तिमीहरूले भन्दैछौ कि मैले शैतानको शक्तिद्वारा भूतहरू भगाउँदैछु। यदि यो सत्य हो भने, तिम्रा मानिसहरूले भुत भगाउन कुन शक्तिको प्रयोग गर्दैछन्? यसकारण तिमीहरूका आफ्नै मानिसहरूले तिमीहरूको भूल कोट्याउनेछन्। 
तर म परमेश्वरका आत्माको शक्तिद्वारा भुतहरू भगाउँछु। यसबाट यो थाहा हुन्छ कि परमेश्वरको राज्य अघि नै तिमीहरूमा आइसकेको छ। 
यदि कुनै मानिसले कुनै एक बलवान मानिसको घरमा लुटपाट गर्न चाहन्छ भने, सर्वप्रथम उसले त्यो बलवान मानिसलाई साङ्लोले बाँधेर राख्नुपर्छ। त्यसपछि मात्र त्यो मानिसले घर लुट्न सक्दछ। 
जो मानिस मसित छैन, त्यो मेरो विरुद्धमा छ। मसित काम नर्गेनले मेरो विरूद्धमा काम गरिरहेको हुन्छ। 
“यसैले म तिमीहरूलाई भन्दछु, तिनीहरूले गरेका हरेक पापका निम्ति मानिसहरूलाई क्षमा प्रदान गर्न सकिन्छ। अनि तिनीहरूले भनेका सबै नराम्रा शब्दहरूको निम्ति मानिसहरूलाई क्षमा प्रदान गर्न सकिन्छ। तर यदि कसैले पवित्र आत्माको विरुद्धमा कुरा गर्छ भने उसलाई क्षमा गरिनेछैन। 
यदि कसैले मानिसका पुत्रका विरुद्धमा कुरा गरे उसलाई क्षमा हुनेछ। तर कसैले पवित्र आत्माको विरुद्धमा-कुरा गरे क्षमा हुनेछैन। त्यस मानिसलाई न ता अहिले क्षमा दिइन्छ न ता भविष्यमानै। 
“यदि तिमीहरू असल फल चाहन्छौ भने तिमीहरूले बृक्षलाईनै असल तुल्याउनु पर्छ। यदि तिमीहरूको बृक्षनै नराम्रो छ भने त्यसको फल पनि नराम्रो हुनेछ। किनकि त्यसको फलबाटनै बोटलाई चिन्न सकिन्छ। 
ए साँपहरू, तिमीहरू दुष्ट मतिका छौ। तिमीहरूबाट कसरी असल कुराहरू आउनसक्छ। हृदयमा जे कुरा थुपरीएको छ त्यही कुराहरू नै मुखले बोल्दछ। 
असल मानिसले असलै कुराहरू हृदयमा थुपारेको हुन्छ। यसर्थ राम्रै कुराहरू उसले बोल्दछ। तर एउटा दुष्ट मानिसले हृदयमा दुष्ट कुराहरू नै राखेका हुन्छ र उसले बोलेको बेलामा हृदयमा भएका दुष्ट कुराहरू नै उसले बोल्दछ। 
यसर्थ म तिमीहरूलाई भन्दछु प्रत्येक मानिसले आफूले बोलेका हरेक लापरवाही कुराहरूको विवरण न्यायको दिनमा दिनु पर्नेछ। 
तिमीलाई तिम्रा आफ्नै कुराहरूद्वारा न्याय गरिनेछ। तिम्रा कतिपय कुराहरूले तिमीलाई सही तुल्याउँनेछ अनि तिम्रा कतिपय कुराहरूले तिमीहरूलाई दोषी ठहराउनेछ।” 
तब केही शास्त्रीहरू र फरिसीहरूले येशूलाई जवाफ दिए। तिनीहरूले भने, “गुरूज्यू, हामी तपाईंबाट एउटा आश्चर्यको चिन्ह हेर्न चाहन्छौ।” 
येशूले जवाफ दिनुभयो, “दुष्ट र पापी मानिसहरूले प्रमाणकोलगि चमत्कार खोज्दैछन्। तर त्यस्ता मानिसहरूलाई प्रमाणकोलागि कुनै चमत्कार देखाइने छैन। अगमवक्ता योनाको चिन्ह बाहेक। 
तीन दिन र तीन रात सम्म योना एउटा ठूलो माछाको पेटमा थिए। त्यसरी नै तीन दिन र तीन रात सम्म मानिसको पुत्र पृथ्वीको पेटभित्र रहनेछ। 
अनि न्यायको दिनमा तिनीहरू दोषी छन् भनी देखाउनका निम्ति निनवेका मानिसहरू यस पुस्ताको साथमा खड़ा हुनेछन्। किनभने योनाले तिनीहरूलाई उपदेश दिएका थिए, अनि तिनीहरूले आफ्नो जीवननै बद्लेका थिए। अनि अझ यहाँ एक मानिस छ त्यो योना अगमवक्ता भन्दा महान छ। 
“न्यायको दिनमा दक्षिणको महारानी यस पुस्ताको अगाडी खडा हुनेछिन् र उनैले तिनीहरूलाई दोषी भनी प्रमाण दिने छिन्। किनभने सुलेमानका ज्ञानहरू सुन्न महारानीले धेरै-टाढासम्मको यात्रा गरेकी थिइन्। अनि अझ यहाँ एक मानिस छ त्यो सुलेमानभन्दा महान छ। 
“जब दुष्ट आत्मा मानिसबाट निस्केर जान्छ, त्यो ओबानो ठाउँतिर विश्राम खोज्दै हिड्छ तर त्यसले भेट्टाउन सक्तैन। 
तब त्यस दुष्ट आत्माले भन्छ, ‘म आफ्नै अघिको घरमा फर्किजानेछु, जसलाई मैले छाडेर आएँ।’ त्यो फर्केर आउँछ र पहिलेको उसको घरभित्र रित्तो र सफा गरि राखेको भेट्टाउँछ। 
त्यसपछि त्यो दुष्ट आत्मा जान्छ, र आफू भन्दा बढ़ता अरू सातवटा दुष्ट आत्माहरू ल्याउँछ। तब सबै दुष्ट आत्माहरू त्यस मानिस भित्र पसेर त्यहाँ बास गर्छन् र त्यस मानिसहरूको अवस्था पहिलेको भन्दा झन खराब हुन्छ अनि त्यही अवस्था त्यो दुष्ट पुस्तामाथि पनि हुन्छ।” 
जब येशू मानिसहरूसित अझ बातचीत गर्दै हुनुहुन्थ्यो उहाँका आमा र भाइहरू बाहिर उभिरहेका थिए। तिनीहरू येशूसँग भेट गर्न चाहन्थे। 
कुनै एकजनाले भने, “तपाईंकी आमा र भाइहरू बाहिर उभिरहेका छन्, अनि तिनीहरू तपाईंसँग भेट गर्न चाहन्छन्।” 
येशूले त्यो बोल्दै गर्ने मानिसलाई भन्नुभयो, “मेरा आमा र मेरा भाइहरू को हुन्?” 
आफ्ना चेलाहरूलाई संकेत गर्दै उहाँले भन्नुभयो, “हेर! यिनीहरू नै आमा र भाइहरू हुन्। 
जसले स्वर्गको मेरो पिताले चाहनु भए झैं गर्दछ उनीहरूनै मेरा भाइ, बहिनी र आमा हुन्।” 
