﻿मत्ती.
9.
येशू एउटा डुङ्गामा चढ्नुभयो र झील पारी जानुभयो अनि उहाँ आफ्नो शहरमा पुग्नुभयो। 
केही मानिसहरू एकजना पक्षघाती रोगीलाई आफूहरू सित लिएर येशू भएकहाँ आए। त्यो मानिस ओछ्यानमै लडीरहेको थियो। येशूले तिनीहरूमा औधी विश्वास भएको देख्नुभयो। अनि उहाँले त्यो पक्षघातीको रोगीलाई भन्नुभयो, “सुखी होऊ, जवान मानिस! तिम्रो पापहरू क्षमा गरिएका छन्।” 
केही शास्त्रीहरूले यी कुराहरू सुने। तिनीहरूले आफू माझ त्यस कुराको वहस गरे, “यो मानिस परमेश्वरले जस्तै कूरा गर्छ उसले परमेश्वरकै निन्दाको कुरा गरे जस्तो छ।” 
तिनीहरूले के सोंचिरहेका छन् भनेर येशूले जान्नू भयो अनि उहाँले भन्नुभयो, “किन तिनीहरू यस्ता दुष्ट विचारहरू आफ्नो मनमा राख्छौ? 
यो पक्षाघातको रोगीलाई कुन कुरा भन्न असल छ: ‘तिम्रा पापहरू क्षमा गरिए’ अथवा ‘उठ र हिँड’ भन्नु। म तिमीहरूलाई यो देखाउनेछु कि यस पृथ्वीमा मानिसको पुत्रलाई पापको क्षमा गर्ने शक्ति प्राप्त छ।” तब येशूले पक्षघातको रोगीलाई भन्नुभयो, “उठ तिम्रो बिछ्यौना बोक र घर जाऊ।” 
अनि त्यो मानिस उठ्यो र घरतिर लाग्यो। 
मानिसहरू यो देखी छक्क परे। मानिसहरूलाई यस्तो शक्ति प्रदान गरेकोमा तिनीहरूले परमेश्वरको प्रशंसा गरे। 
जब येशू गइरहनु भएको थियो, उहाँले एकजना मत्ती नाम गरेको मानिसलाई भेट्नु भयो। मत्ती महसूल उठाउने अड्डामा बसिहहेका थिए। येशूले भन्नुभयो, “मसित आऊ।” त्यसपछि मत्ती जुरूक्क उठे र येशूको पछि लागे। 
येशू बेलुकीको भोजन मत्तीकै घरमा खान बस्नु भएको बेला त्यहाँ धेरै कर उठाउनेहरू र पापीहरू आएका थिए अनि तिनीहरूले येशू र उहाँका चेलाहरू सँगै भोजन खादै थिए। 
येशूले ती मानिसहरूसँग खाना खाइ रहनु भएको फरिसीहरूले देखे। फरिसीहरूले येशूका चेलाहरूलाई सोधे, “किन तिमीहरूका गुरूले कर उठाउनेहरू र पापीहरूसँग बसेर खाना खान्छन्?” 
फरिसीहरूले भन्दै गरेको कुरा येशूको सुन्नुभयो। अनि उहाँले भन्नुभयो, “स्वस्थ मानिसहरूलाई वैद्यको आवश्यकता पर्दैन। जो रोगी छ उसैलाई वैद्यको आवश्यकता पर्दछ। 
म तिमीहरूलाई एउटा कुरो भन्नेछु। जाऊ अनि यसको अर्थ के हो सिक: ‘म पशुको बलिदान चाहन्न। म मानिसहरूमा दया चाहन्छु।’ म यहाँ धार्मिक मानिसहरूलाई भेट्न आएको होइन, ती पापीहरूलाई भेट्न आएको हुँ।” 
त्यसपछि यूहन्नाका चेलाहरू येशूकहाँ आए। तिनीहरूले येशूलाई भने, “हामी अनि फरिसीहरू धेरै जसो उपवास बस्दछौ। ती तपाईंका चेलाहरू किन उपवास बस्दैनन्?” 
येशूले भन्नुभयो, “विवाहको बेलामा जो दुलहासँग हुन्छन्, तिनले दुख मान्दैनन् तर त्यस्तो समय आउँछ जब तिनीहरूबाट दुलहालाई अलग गरिन्छ। तब तिनीहरू दुःखी बन्छन् र तिनीहरू उपवास लिन्छन्। 
“कसैले पुरानो वस्त्रमा भएको प्वालमा नखुम्चिएको लुगाको टुक्रा टाल्दैन। यदि कसैले त्यसो गरे त्यो टालो पुरानो लुगाबाट च्यातिन्छ र त्यो प्वाल झन नराम्रो हुन्छ। 
कसैले पनि नयाँ दाखरसलाई छालाको पुरानो थैलाहरूमा हाल्दैन। पुरानो थैलीमा कसैले नयाँ दाखरस हाल्यो भने, त्यो थैली फाट्छ र दाखरस पनि नष्ट हुन्छ। यसकारण मानिसहरूले नयाँ थैलाहरूमा नयाँ दाखरस हाल्दछन्। यसरी दाखरस र थैलाहरू दुवै सुरक्षित रहन्छन्।” 
येशू यी कुराहरू भन्दै हुनुहुन्थ्यो, त्यसैबला सभाधरको एकजना प्रमुख उहाँकहाँ आए। येशूको अघि तिनले शिर झुकाए, अनि भने, “मेरी छोरी अहिले मरी कृपया आउनुहोस् र तपाईंको हात त्यसमाथि राखिदिनुहोस् अनि त्यसले आफ्नो जीवन फिर्ता पाउनेछ।” 
तुरन्तै येशू उठ्नु भयो अनि तिनीसित जानुभयो। उहाँका चेलाहरू पनि पछि लागे। 
बाह्र वर्षदेखि रगत बहने रोगले ग्रस्त एउटी स्त्री त्यहाँ थिईन्। येशूको पछिल्तिर आएर उनले उहाँको वस्त्रको फेरमा छोइन्। 
तिनले सोच्दै थिइन्, “यदि मैले उहाँको लुगाको फेरमा छोएँ मात्र भने पनि म ठीक भइजानेछु।” 
येशू पछिल्तिर फर्किनु भयो र तिनलाई देखेर भन्नुभयो, “हे प्यारी छोरी खुशी होऊ। तिम्रो विश्वासले तिमी निको भएकि छौ।” तिनै बेला तिनी ठीक भइन्। 
येशू यहुदी शासकसँग हिँड्दै हुनुहुन्थ्यो।उहाँ तिनको घरमा पुग्नु भयो।मानिसहरुलाई शोक धुन बजाईरहेको देख्नुभयो। उहाँले धेरै मानिसहरूलाई त्यहाँ रोइरहेको देख्नुभयो किनभने युवती मरेकी थिई। 
येशूले भन्नुभयो, “र जाऊ। यो युवती मरेकी छैन। ऊ निदाइरहेकी मात्र छे।” यो देखेर मानिसहरूले उहाँको हाँसो उडाए। 
जब मानिसहरूलाई घरबाट बाहिर पठाइयो, तब येशू युवतीको कोठामा प्रवेश गर्नुभयो। उहाँले युवतीको हात समात्नुभयो अनि त्यो युवती जुरुक्क उठी। 
तब यस कुराको खबर सारा मुलुकभरि फिँजियो। 
जब येशू त्यो स्थानबाट गईरहनु भएको थियो, दुइजना अन्धो मानिसले उहाँलाई पछ्याए। ती अन्धाहरूले ठूलो स्वरले रूदै भने, “हे दाऊदका पुत्र, कृपया हामीलाई सहायता गर्नुहोस्।” 
जब येशू घर भित्र पस्नुभयो, ती अन्धा मानिसहरू उहाँकहाँ आए। उहाँले ती अन्धाहरूलाई भन्नुभयो। “के म तिमीहरूलाई फेरि देख्न सक्ने बनाउँछु भनेर तिमीहरूलाई विश्वास लाग्छ?” अन्धा मानिसहरूले जवाफ दिए, “ज्यू, प्रभु, हामीलाई विश्वास लाग्छ।” 
त्यसपछि येशूले तिनीहरूका आँखाहरू छोएर भन्नुभयो, “मैले तिमीहरूलाई देख्नसक्ने बनाउन सक्छु भन्ने विश्वास तिमीहरूसित छ। यस्तै हुन देऊ।” 
त्यसपछि तिनीहरूले तुरन्तै देख्न सके। येशूले तिनीहरूलाई कडा चेताउनी दिनु भयो, उहाँले भन्नु भयो, “यो कुरा कसैले थाहा पाउनु हुँदैन।” 
तर ती अन्धा मानिसहरू बाहिर गए अनि त्यस क्षेत्रमा चारैतिर येशूको खबर फिँजाए। 
जब ती दुइ मानिसहरू जादै थिए, केही मानिसहरूले अर्को एकजनालाई येशूकहाँ ल्याए। उसलाई भूत लागेको हुनाले त्यो मानिसले बोल्ने शक्ति गुमाएको थियो। 
येशूले त्यस मानिसबाट भूत भगाइदिनुभयो। त्यसपछि त्यो मानिस बोल्न थाल्यो। मानिसहरू छक्क पर्दै भन्नलागे, “इस्राएलमा यसप्रकारको घटना पहिले कहिल्यै घटेको थिएन।” 
तर फरिसीहरूले भने, “भूतहरूको नेता एउटै छ जसले उहाँलाई भूत पाउने शक्ति दिएको छ।” 
येशू सारा शहर र गाउँहरू हुँदै यात्रा गर्नुभयो। तिनीहरूका सभाघरहरूमा शिक्षा दिनुभयो अनि राज्यको बारेमा सुसमाचार प्रचार गर्नु भयो। येशूले सबै प्रकारका रोग र बिमारीहरू निको पार्नुभयो। 
उहाँले भीडलाई देख्नूभयो र उनीहरूको निम्ति टिठाउनु भयो। किनभने तिनीहरू असहाय अनि चिन्तित थिए। तिनीहरू गोठालो नभएका भेंडाहरू जस्तै हैरान भई तितर-बितर भएका थिए। 
येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “फसल ता धेरै छन् तर फसल काट्ने खेतालाहरू कम्ती छन्। 
प्रभु फसलका मालिक हुनुहुन्छ। उहाँलाई प्रार्थना गर जसद्वारा उहाँले आफ्ना फसल संग्रह गर्न अधिक कर्मीहरू पठाउनू हुनेछ।” 
