﻿भजन.
50.
आसापको भजन। परमप्रभु, देवताहरूका पनि परमेश्वर बोल्नु भयो। सूर्योदयदेखि र सूर्यास्तसम्म उहाँले सबैलाई पृथ्वीमा बोलाउनु भयो। 
सियोनबाट चम्किरहने परमेश्वर परम सुन्दर हुनुहुन्छ। 
हाम्रो परमेश्वर आउनु हुँदैछ। अनि उहाँ चुपचाप बस्नु हुने छैन। उहाँको अघि आगो बल्छ। उहाँको वरिपरि ठूलो आँधी छ। 
जब हाम्रो परमेश्वरले मानिसहरूको न्याय गर्नु हुन्छ उहाँले पृथ्वी र आकाशलाई साक्षीको रूपमा बोलाउनु हुनेछ। 
परमेश्वर भन्नुहुन्छ, “मेरा शिष्यहरू मेरो वरिपरि भेला हुन आऊ, मेरा भक्तजनहरू र हामी एकाअर्कासित सम्झौता गरौं।” 
परमेश्वर न्यायी हुनुहुन्छ र आकाशले उहाँको धार्मिकता प्रकट गर्नेछ। 
परमेश्वर भन्नुहुन्छ, “हे मेरो भक्तजनहरू, ध्यान दिएर मेरो कुरा सुन! इस्राएल का मानिसहरू हो, म तिमीहरूलाई तिमीहरूकै विरूद्धमा साक्षी प्रकट गर्ने छु म परमेश्वर हुँ, तिमीहरूकै परमेश्वर। 
मैले तिमीहरूले चढाएका बलिहरूका विषय मैले गुनासो गरिरहेको छैन। तिमी इस्राएल का मानिसहरूले सधैं नै होमबलिहरू चढायौं। प्रत्येक दिन ती बलिहरू मलाई चढायौं। 
म तिम्रो घरबाट साँढेहरू लिने छैन म तिमीहरूको गोठहरूबाट बाख्राहरू लिने छैन। 
मलाई ती पशुहरूको आवश्यकता छैन। मसँग पहिल्यैबाट जंङ्गलमा पशुहरू छन्। हजारौं पर्वतहरूमा त्यस्ता पशुहरू मेरो आफ्नै छन्। 
उच्च पर्वतहरूमा भएका सबै चरा-चुरूङ्गीहरू म जान्दछु। प्रत्येक जल-प्राणी र जति पहाडहरूमा छन् ती सबै मेरै हुन्। 
म भोको छैन तर यदि म भोको हुँदो हुँ ता पनि म तिमीहरूलाई खाना माग्ने छैन। पहिल्यैबाटै यो संसार र यसका प्रत्येक चीजहरू मेरो आफ्नै हुन्। 
म साँढहरूको मासु र बाख्राहरूका दूध खान्न।” 
यसैले अरूहरूसँग बाँडचुँड गरे पछिको धन्यवादको अर्पणहरू लिएर मसित हुनलाई आऊ। तिमीहरूले उच्चतम परमेश्वरलाई वचनहरू दिएका छौ, यसैले ती वचनहरू पूरा गर। 
परमप्रभु भन्नुहुन्छ, “तिमीहरूलाई दुःख परेको बेला मलाई पुकारा गर म सहयोग गर्नेछु। अनि त्यसपछि तिमीहरूले मलाई सम्मान गर्न सक्छौ।” 
परमेश्वरले दुष्ट मानिसहरूलाई भन्नुहुन्छ, “तिमीहरूले मेरो नियमहरूको बारेमा कुरा गर्छौ। तिमीहरूले मेरो करारको बारेमा कुरा गर्यौ। 
यसकारण यसलाई किन उपेक्षा गर्छौ जब कि म तिमीहरूलाई सुधार्न खोज्छु? किन मैले भनेका कुराहरू अस्वीकार गर्दछौ? 
तिमीहरूले चोरलाई भेट्छौ र त्यो सित मिल्न दौडन्छौ। तिमीहरू व्यभिचारीहरूसँग सुत्छौ। 
तिमीहरूले अनुचित र झूटो कुराहरू गर्छौ। 
तिमीहरूले लगातार आफ्ना दाज्यु भाईहरूको विषयमा आलोचना गर्छौ, अनि दोष लगाईरहेका छौ। 
यद्यपि तिमीहरूले त्यस्ता अनुचित कुराहरू गरे पनि म चुपचाप बसें, यसैले तिमीहरुले सोच्यौ कि म पनि तिमीहरू जस्तै हुँ। हेर! धेरै बेर म चुपचाप बस्ने छैन! म स्पष्ट गर्न चाहन्छु र तिमीहरूकै सम्मुखमा दोष लाउनेछु। 
तिमीहरूले परमेश्वरलाई भुलेर गयौ, यो मैले तिमीहरूलाई टुक्रा-टुक्रा पार्नु भन्दा अघि नै बुझ्ने चेष्टा गर। यदि त्यस्तो भयो भने, कसैले पनि तिमीहरूलाई बचाउँन सक्ने छैन! 
यदि कसैले धन्यवाद अर्पण दिन्छ भने, उसले मलाई श्रद्धा देखाउँछ, तर त्यो जसले सही जीवन विताउन चाहन्छ म उसलाई मेरो मुक्तिको शक्ति देखाउने छु।” 
