﻿भजन.
26.
दाऊदको भजन। हे परमप्रभु मेरो न्याय गर्नुहोस्। म चोखो भएर बाँचेको छु भनेर प्रमाणित गर्नुहोस्। म परमप्रभुमा भरोसा गर्न कहिल्यै चुकेको छैन। 
हे परमप्रभु प्रयास गरेर मलाई जाँच गर्नुहोस्। मेरो मन र हृदय जाँच्न नियालेर हेर्नुहोस्। 
मैले तपाईंको साँचो प्रेम कहिल्यै बिर्सिएको छुइनँ अनि तपाईंको विश्वासले मेरो सारा जीवनलाई डोर्याइरहेको छ। 
म ती व्यर्थका मानिसहरू मध्येको होइन। म दुष्टका संगतहरूलाई घृणा गर्छु। 
म ती कुकर्मीहरूको समुदायलाई घृणा गर्छु। म ती ठग धूर्तहरूको समुदायहरूमा सामेल छैन। 
हे परमप्रभु, म चोखो छु भनेर देखाउनलाई मेरो हातहरू धोई दिनुहोस् म तपाईंको वेदीको वरिपरि हिंड्न सकूँ। 
हे परमप्रभु, म तपाईंको महिमाको गीत गाउँछु। म ती अद्भूत सृजनाहरूका गीत गाउँछु जुन सबै तपाईंले सृष्टि गर्नुभयो। 
हे परमप्रभु म तपाईंको मन्दिरलाई प्रेम गर्दछु। म तपाईंको महिमापूर्ण पाललाई प्रेम गर्दछु। 
हे परमप्रभु, मलाई पापीहरूसित सजाय नदिनुहोस्। ती हत्याराहरू सँगै मलाई नमार्नुहोस्। 
ती पापीहरूले अन्य मानिसहरूलाई ठग्न सक्छन। तिनीहरूले नीच काम गर्न पैसाहरू लिनसक्छन्। 
तर म निर्दोष छु। यसैले परमेश्वरको म प्रति कृपा रहोस् र रक्षा गर्नुहोस्। 
म सबै विपदहरूबाट सुरक्षित छु। हे परमप्रभु, म तपाईंका मानिसहरूको महासभामा, बोलाइएकाहरूको माझमा जब उभिन्छु त्यहाँ तपाईंको प्रशंसा गर्नेछु। 
