﻿भजन.
2.
अन्य राष्ट्रका मानिसहरू किन रिसाउँछन्? किन तिनीहरू मूर्खतापूर्ण योजनाहरू बनाउँदै छन्? 
तिनीहरूका राजाहरू र अगुवाहरू परमप्रभुको विरूद्ध र उहाँले रोजेका राजाको विरूद्धमा युद्ध गर्न एकजुट भए। 
ती अगुवाहरूले भने, “परमेश्वर र आफूले रोजेका राजाको विरूद्ध विद्रोह गरौं, तिनीहरूबाट अलग हौं।” 
तर मेरा स्वामी, स्वर्गका राजा ती मानिसहरू प्रति हाँस्नुहुन्छ। परमप्रभुले तिनीहरुलाई हाँसोको पात्र बनाउनु हुन्छ। 
तब परमेश्वर रिसाउनु हुन्छ, अनि यसो गर्दा ती अन्य अगुवाहरू डराउँछन्। 
अनि ती मानिसहरूलाई भन्नुहुन्छ, “यो मानिस राजा होस् भनी मैले रोजें। अनि उसले सियोन पर्वतमा राज गर्नेछ। सियोन मेरो एक विशेष पर्वत हो।” 
अब म तिमीलाई परमप्रभुको करारको विषयमा भन्नेछु। परमप्रभुले मलाई भन्नुभयो, “आज म तिम्रो पिता भएँ, तिमी मेरा पुत्र भयौ। 
यदि तिमीले माग्छौ भने, म तिमीहरूलाई यो देश दिनेछु अनि पृथ्वीमा भएका सबै जातिहरू तिमीहरूका मानिसहरू हुनेछन्। 
तिमीहरूले ती देशहरूलाई फलामको डण्डाले माटोको भाँडाहरू टुक्रा पारे झैं नष्ट गर्न सक्ने छौ।” 
यसैकारण, राजा र शासकहरु बुद्धिमान होउन् र तिम्रा सम्पूर्ण शासकहरूले यो पाठ सिकुन्। 
यसकारण एकदम डराएर परमप्रभुको आज्ञा पालन गर। 
तिमीहरूले परमप्रभुको पुत्रको भक्त हुँ भन्ने देखाऊ। यदि तिमीहरूले त्यसो गरेनौ भने उहाँ क्रोधित हुनुहुनेछ, र तिमीहरू सबैलाई ध्वंश पार्नु हुनेछ। जसले परमप्रभुमाथि विश्वास गर्दछन् उनीहरू सुखी हुन्छन्। तर अन्य मानिसहरू होशियार हुनु पर्नेछ। परमप्रभु आफ्नो क्रोध देखाउन तयार हुनुहुन्छ। 
