﻿अय्यूब.
38.
तब परमेश्वर भुँवरीबाट अय्यूबसित बोल्नु भयो। परमेश्वरले भन्नुभयोः 
“त्यो अज्ञानी मानिस को हो? जसले यस्ता मूर्ख कुराहरू गरिरहेको छ।” 
अय्यूब, कम्मर कस, मेरो प्रश्नको उत्तर दिनलाई तैयार बस। 
“तिमी कहाँ थियौ जब मैले पृथ्वी सृष्टि गरे? यदि तिमी यो जान्दछौ भने मलाई जवाफ देऊ। 
यदि तिमी साह्रै चतुर छौ भने, संसार यति ठूलो हुनुपर्छ भनेर कसले निर्णय गर्यो? कसले संसारलाई नापजोख गर्यो? 
पृथ्वीको आधारशिला के हो? कसले यसमा प्रथम ढुङ्गा राख्यो? 
जब त्यसो गरियो, बिहान ताराहरूले एकैसाथ गाए अनि दूतहरू आनन्दले कराए। 
“अय्यूब, जब समुद्र पृथ्वीमा गहिरोबाट बग्यो त्यसलाई रोक्न कसले द्वारहरू बन्द गर्यो? 
त्यसबेला यसलाई मैले बादलहरूले ढाकें अनि अँधेरोमा लपेटें। 
मैले समुद्रको सीमा बाँधें अनि बन्द द्वारहरूको पछिल्तिर राखें। 
मैले समुद्रलाई भनें, ‘तँ यतिसम्म आउन सक्छस, अरू बेशी होइन। यसरी तिम्रो अंहकारी छालहरू रोकिनेछ।’ 
“अय्यूब, के तिमीले आफ्नो जीवनमा कहिल्यै बिहानलाई शुरू हुने आज्ञा दिएको थियौ अथवा दिनलाई शुरू हुने आज्ञा गर्यौ? 
अय्यूब, के तिमीले कहिले बिहानको उज्यालोलाई पृथ्वी समात भन्यौ अनि दुष्ट मानिसहरूलाई लुकेका ठाउँहरूमा भयभीत पार्यौ। 
बिहानको उज्यालोले पहाडहरू र खाल्डाहरू देखिन सजिलो गराइदिन्छ जब दिनको उज्यालो पृथ्वीमा आउँछ, ती ठाउँहरूका आकारहरू लुगाको मुजाहरू जस्तै हुन्छन। नरम माटोले टाँचाको मुनि आकार लिए जस्तै पृथ्वीले आकार धारण गर्छ। 
दुष्ट मानिसहरूले उज्यालो मन पराउँदैनन्। किनभने जब उज्यालो फैलिन्छ ती दुष्ट मानिसहरूले खराब कर्म गर्न वाधा पाउँछन्। 
“अय्यूब, तिमी कहिले समुद्रको गहिरो भागमा पुगेको छौ जहाँबाट समुद्र शुरू हुन्छ? तिमी कहिले समुद्रको सतहमा हिंडेकाछौं? 
अय्यूब तिमीले मृत्युको कालो ठाउँमा डोर्याउने द्वारहरू कहिले देखेका छौ? तिमीले मृत्युलोकमा लैजाने द्वारहरू देखेका छौ? 
अय्यूब, पृथ्वी कति विस्तृत छ के तिमी साँच्चै जान्दछौ? यदि तिमी यी सारा कुराहरू जान्दछौ भने मलाई भन। 
“अय्यूब, प्रकाश कहाँबाट आउने गर्छ? अन्धकार कहाँबाट आउँदछ? 
अय्यूब, के तिमी प्रकाश र अन्धकार कहाँबाट आए तिनीहरू त्यतैतिर फर्काउन सक्छौ? के तिमी जान्दछौ कसरी त्यस ठाउँमा जान पर्छ? 
निःसन्देह तिमी ती कुराहरू जान्दछौ, अय्यूब। तिमी धेरै बृद्ध र ज्ञानी छौ। जब मैले ती कुराहरू बनाउदै थिए तिमी त्यही थियौ? 
“अय्यूब, तिमी कहिले त्यो भण्डार भित्र गएका छौ जहाँ मैले हिऊँ र असिना राख्छु? 
मैले हिऊँ र असिना संकट र लडाइँ, युद्धको समयको लागि बचाएर राखेको छु। 
तिमी त्यस ठाउँमा कहिले गएका छौ जहाँबाट घाम उदाउँछ र जहाँबाट पूर्वी हावा पृथ्वीमा बहन्छ? 
अय्यूब, कसले आकाशमा हात्तीसुँढे पानी पार्न नहरहरू खने? कसले आँधी वेरी आउने बाटो बनाए? 
कसले मानिसहरू नबस्ने ठाउँमा पानी पर्ने बनायो? 
त्यो रित्तो ठाउँ पनि पानीले भूमिलाई प्रशस्त भिजाउँछ अनि घाँस उम्रन थाल्दछ। 
के बर्षाको पिता छ जसले शीतका थोपाहरू उब्जाउँदछ? 
के हिंऊको आमा छ? जसले असिनालाई जन्म दिन्छ? 
पानी ढुङ्गा भन्दा पनि कडा हुन्छ अनि महासागरको सतह जम्छ। 
“अय्यूब, के तिमी सप्तऋषि तारालाई बाँध्न सक्छौ? के तिमी मृगशीराको बन्धन खोल्न सक्छौ? 
के तिमी ठीक समयमा ताराको झुण्डलाई प्रकट गराउन सक्छौ? अथवा के तिमी भालूको बच्चाहरूलाई खेलाउन सक्छौ? 
के तिमीले आकाश नियन्त्रण गर्ने नियमहरू जान्दछौ? के तिमीले तिनीहरूलाई पृथ्वी शासन गर्ने बनाउन सक्छौ? 
“अय्यूब के तिमी बादलाई चिच्याउन सक्छौ अनि आफूलाई पानीले छोप भनी आदेश दिन सक्छौ? 
के तिमीले बिजुलीलाई आदेश गर्न सक्छौ, हामी यहाँ छौ। महाशय! तपाईं के चाहनु हुन्छ? के तिमी जहाँ चाहन्छौ बिजुलीलाई पठाउन सक्छौ? 
“अय्यूब, मानिसहरूलाई ज्ञानी कसले बनायो? कसले ज्ञान तिनीहरूको हृदयमा पसायो? 
त्यस्तो ज्ञानी कस्को छ जसले बादल गन्न सक्छ अनि कसले डिम्का लगाएर बादलबाट पानी पार्न सक्छ? 
यसैले धूलो हिलो बनिन्छ र मैला ढिकाहरू एकसाथ टाँसिन्छ। 
“अय्यूब के तिमीले सिंहहरूको लागि भोजन पाउँछौ? के तिनीहरूका भोका बच्चाहरूलाई खुवाउन सक्छौ? 
ती सिंहहरू आफ्ना गुफामा लडिरहेका छन्। आफ्नो शिकारमाथि आक्रमण गर्न घाँसमाथि थ्याच्च बसी तयार भएका छन्। 
जब त्यसका बच्चाहरू क्षुधातुर भएर परमेश्वरलाई पुर्कादा भोजनको खोजीमा डुलिरहेको कागलाई कसले खुवाउँछ? 
