﻿1 शमूएल.
21.
त्यसपछि दाऊद गए जोनाथन शहरमा फर्किए। दाऊद पूजाहारी अहीमेलेकलाई भेट्न नोब नाउँको शहरमा गए। अहीमेलेक दाऊदलाई भेट्न बाहिर गए। अहीमेलेक डरले कामिरहेका थिए। अहीमेलेकले दाऊदलाई भने, “तपाईं किन एकलै हुनुहुन्छ? तपाईंसित कोही पनि छैनन्?” 
दाऊदले अहीमेलेकलाई जवाफ दिए, “राजाले मलाई विशेष आदेश दिनुभएको छ। उहाँले भन्नु भएको छ, ‘यो यात्राको उद्देश्य कसैले पनि थाहा नपाओस्। कुनै पनि मानिसले थाहा नपाओस्।’ जो मैले भने। मैले आफ्ना मानिसहरूलाई कहाँ भेट्नुपर्ने हो बताइदिएको छु। 
अब यो भन ‘तिम्रोमा खानेकुरो के छ?’ मलाई पाँचवटा रोटी वा जे छ देऊ।” 
पूजाहारीले दाऊदलाई भने, “मेरोमा त्यस्तो साधारण रोटी छैन। तर मसँग केही पवित्र रोटी छन्, यदि तपाईंका अधिकारीहरूले कुनै स्त्रीहरूसँग सहवास गरेका छैनन्, भने यो रोटी खान सक्छन्।” 
दाऊदले पूजाहारीलाई जवाफ दिए, “आज भोलि हामीले कुनै स्त्री साथमा राखेका छैनौ। युद्धमा जाँदा हाम्रा मानिसहरू सधैं पवित्र भएर जान्छन् यहाँसम्म साधारण उद्देश्य सोध्न जाँदा पनि। आज त यो कुरा झन् साँचो हो कारण अति विशेष कुरा सोध्नु छ।” 
त्यहाँ पवित्र रोटी बाहेक अरू कुनै रोटी थिएन। यसर्थ पूजाहारीले दाऊदलाई त्यही रोटी दिए। यो त्यही रोटी थियो जो पूजाहारीले परमप्रभुमा चढाएका थिए। पूजाहारीले प्रत्येक दिन त्यो रोटी बाहिर राखेर त्यसको सट्टामा ताजा रोटी राख्थे। 
त्यस दिन शाऊलका अधिकारीहरू मध्ये एकजना त्यहीं थिए। उनी हुन एदोमी दोएग। दोएगलाई त्यहाँ परमप्रभुको अघि राखेको थियो। दोएग शाऊलका गोठालाहरूका प्रमुख थिए। 
दाऊदले अहीमेलेकलाई सोधे, “यहाँ एउटा भाला अथवा तरवार केही छ? राजाको ज्यादै जरूरी काम छ। मलाई छिटै जानु छ। मैले तरवार अथवा अन्य कुनै शस्त्र साथमा लिएर आइनँ।” 
पूजाहारीले भने, “यहाँ खालि एउटा तरवार छ त्यो पनि पलिश्ती गोल्यतको हो। तपाईंले एलाको बेंसीमा त्यसलाई मारेर लिएको तरवार हो। त्यो तरवार एउटा लुगामा बेह्रेर एपोदको पछाडि राखेको छ। यदि तपाईंलाई चाहिन्छ भने लिए हुन्छ।” दाऊदले भने, “त्यो मलाई देऊ। गोल्यतको जस्तो तरवार अरू कसैको छैन।” 
शाऊलबाट भागेर दाऊद गातका राजा आकीश कहाँ पुगे। 
आकीशका अधिकारीहरूलाई यो राम्रो लागेन। तिनीहरूले भन्छन्, “यो दाऊद हो, इस्राएली भूमिको राजा। यो त्यही व्यक्ति हो जसको गीत इस्राएलीहरू गाउँछन्। तिनीहरू नाच्दै उसको बारेमा यस्तो गाउँछन्; “शाऊलले हजार शत्रुहरू मारे तर दाऊदले दश हजार मारे।” 
तिनीहरूले के भन्दैछन् दाऊदले ध्यान दिए। दाऊद गातका राजा आकीशसँग डराए। 
यसर्थ दाऊदले आकीश र तिनका अधिकारीहरू अघि बौलाहाको बहाना गरे। तिनीहरूका अघि दाऊदले बौलाहा भएको नाटक गरे। उनले मूल दोकामा नै थुके र दाह्रीमा थुक चुहुनु दिए। 
आकीशले आफ्ना अधिकारीहरूलाई भने, “हेर यो मानिसलाई! यो त पागल हो। यस मानिसलाई मेरो उपस्थितिमा पागल कार्य गर्न यहाँ ल्याउनु अवश्यक छैन। भविष्यमा फेरि यो मानिसलाई मेरो घरमा नल्याउनु। 
मसँग यस्ता बौलाहा मानिसहरू धेरै छन्। मलाई तिमीहरूले यसलाई यहाँ ल्याउने कुनै काम थियो भन्ने लाग्दैन। फेरि-फेरि यसलाई यहाँ मेरो घरमा नल्याउनू!” 
